आज मिति २०८३ साल जेठ ८ गते शुक्रबार । सन् २०२६ मे २२ तारिख । नेपाल संवत् ११४६ । अधिक जेठ शुक्लपक्ष । बिहान १० बजेर १९ मिनेटदेखि दिउँसो १२ बजेर १ मिनेटसम्म राहुकाल रहने हुनाले शुभ कार्य गर्न नहुने । आज बिहान ५ बजेर १४ मिनेटमा झुल्किएको घाम साँझ ६ बजेर ४८ मिनेटमा अस्ताउनेछ । अब सुरु गरौँ आजको राशिफल।
मेष
आजको दिन अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ, तापनि सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्ने देखिन्छ । पुराना सहयोगीहरूले धोका दिन सक्छन्, सावधान रहनुहोला । व्यावसायिक काममा खर्च बढ्ने योग छ । अवसर आए पनि नयाँ काममा हात नहाल्नु उचित हुनेछ ।
बृष
रोकिएको काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनसक्ने दिन छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त होला । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् । आयआर्जन राम्रै हुने देखिन्छ । कतै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । सबल स्वास्थ्यका लागि विशेष ख्याल राख्नुपर्नेछ । उद्योग र व्यापारमा विशेष फाइदा होला । बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ । शत्रुपक्ष परास्त हुनेछ ।
मीथुन
जटिल ठानिएको कार्य पनि हिम्मतले बनाउन सकिने समय छ । गुमेको प्रतिष्ठा स्वप्रयत्न तथा लगनशीलताले पुनःस्थापित गर्न सकिएला । अध्ययन–अध्यापन तथा लेखनसम्बन्धी कार्यमा समय दिन नसकिएला, तर बौद्धिक क्रियाकलापमा अब्बल रहिनेछ । सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन्, आफ्नै प्रयत्न ज्यादा फलदायी रहने योग छ । वित्तादि लाभका साथै रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।
कर्कट
केही चुनौतीयुक्त समय छ । कुनै अवसर प्राप्त भए पनि आलोचक वा विरोधिपक्षको फन्दामा परिने सम्भावना छ । गोपनीयतामा विशेष ध्यान दिनु हितकर होला । स्वास्थ्य केही कमजोर रहेको अनुभूतिले नियमित काममा असर गर्नसक्छ । समयमा काम पूरा नहुनाले राम्रो अवसर गुम्ने योग छ, सजग रहनुहोला । सन्तान पक्षबाट सुख–सन्तोष बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
सिंह
व्यापार व्यवसायमा राम्रै फाइदा हुने समय छ । परिवारजनमा असमझदारी बढ्नाले महत्वपूर्ण काममा बाधा पुग्ने सम्भावना छ । आफ्नै कमजोरीले ढिलासुस्ती हुने देखिन्छ । काम बिग्रने डरले सताइरहला । मानसम्मानमा ठेस पुग्नुबाट बच्नुहोला । बेसुरमा जथाभावी वचन दिनाले दुःख पाइने सम्भावना रहेकोले बोली र व्यवहारमा संयमता अपनाउनु हितकर होला ।
कन्या
पराक्रम वृद्धिका कारण सानो प्रयत्नले ठूलो काम सम्पादन हुने समय छ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्ला । आफन्त एवम् मित्रजनको सञ्जालबाट विशेष फाइदा लिन सकिनेछ । अध्ययन अध्यापन कार्यमा पनि प्रगति हुने देखिन्छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्यसुखमा रमाउने योग छ । जटिल ठानेको काम सजिलै बन्नाले उत्साह जाग्नेछ ।
तुला
मित्रजनले काममा सहयोग जुटाउनुका साथै रोकिएको काम अघि बढ्ने समय छ । कामका बाधाहरू बिस्तारै हट्नेछन् । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । पशु र कृषिबाट सोचेको लाभ नउठ्न सक्छ, ध्यान राख्नुहोला । यात्रागत कार्यमा सफलता प्राप्त होला । आमोदप्रमोदमा रमिरहने योग छ ।
वृश्चिक
मुख्य काममा बाधा हुने तर विलासितामा धन खर्च हुने समय छ । स्वास्थ्यमा केही कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहला । सानातिना घरेलु काममै अल्झनुपर्दा असन्तुष्टि बढ्न सक्छ । भौतिक साधन बिग्रनाले लक्ष्यप्राप्तिमा बाधा पर्ने देखिन्छ । बोलीको प्रभाव भने बढ्नेछ । समस्यामा आफन्तजनले हात दिनेछन् ।
धनु
मिश्रित फलदायी समय छ । महत्वपूर्ण काम अर्थअभावले रोकिने सम्भावना छ । समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिने योग छ, सजग रही व्यवहार गर्नुहोला । नियमित कार्यमा सहयोगीहरूले आज राम्रै साथ दिनेछन् । नजिकका साथीभाइ आज टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध गाँसिनेछ । सामाजिक क्रियाकलापमा मन आकर्षित रहला ।
मकर
लाभ हुने काम प्रारम्भ गर्न सकिने समय छ । साझेदारीमा राम्रो फाइदा होला । आयआर्जनका स्रोत बढ्नेछन् भने आमाको माध्यमबाट विशेष काम बनाउन सकिनेछ । काम र पदको आशा देखाउनेहरूसँग सजग रहनु हितकर हुनेछ । प्रतिस्पर्धाले आम्दानीको बाटो देखाउनेछ । नसोचेको ठाउबाट धन आर्जन हुने योग छ । मनोकूलताको माहोल रहनाले हर्ष वृद्धि होला ।
कुम्भ
श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी बढ्ने र कीर्तिमानी काम गर्दै धेरैलाई प्रभावित बनाउन सकिने समय छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना रहेकोले बाध्यताका काममा चाहिँ ध्यान नदिनु उचित हुनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्ने योग छ । स्वास्थ्य केही कमजोर भएको अनुभूति होला, तथापि मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । सन्तान पक्षबाट सुख मिल्नेछ ।
मीन
आजको दिन केही महत्वपूर्ण अवसर जुटे पनि परिस्थिति अलिक संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । लेनदेनमा विवाद पर्न सक्छ, आर्थिक लेनदेनका कार्य आज सकभर नगरेकै उचित हुनेछ । आजको दिन सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनुहोला । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ