नेकपा सांसद मल्लले भने- नीति तथा कार्यक्रममा गरिबलाई छाडेर उपल्लो वर्गलाई राखियो

0 Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद रमेश मल्लले नीति तथा कार्यक्रमले गरिबलाई छोडेर उपल्लो वर्गलाई केन्द्रमा राखेको बताएका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद मल्लले नीति तथा कार्यक्रमको लक्ष्य, यात्रा र गन्तव्यमा विरोधाभाष रहेको टिप्पणी गरे। नीति तथा कार्यक्रममाथि आफूले राखेको संशोधन प्रस्तावबारे बोल्दै उनले भने, ‘संविधानलाई बाइपास गर्न खोजेको हो कि भन्ने आभाष हुन्छ।’

देशको सेवाप्रधान अर्थतन्त्रलार्य उत्पदनतिर लग्ने नीति तथा कार्यक्रमा केही नभेटिएको उनको भनाइ थियो। ‘नीति तथा कार्यक्रमले सेवाप्रधान अर्थतन्त्रलाई नै जोड दिएको छ। हाम्रो अर्थतन्त्र हाल पनि सेवा प्रधान नै छ। मुलुकलाई उत्पादन हुँदै आत्मनिर्भरतिर लैजाने ठोस कार्यक्रम छैन,’ मल्लले भने।

सरकारले ल्याएको नीति तथा कार्यक्रमले गरिब र सीमान्तृक समुदायलाई समेट्न नसकेको उनले बताए। ‘नीति तथा कार्यक्रमको केन्द्रमा उपल्लो वर्ग भेटिन्छ। तर गरिब, विपिन्न, दलित, सीमान्तकृत, कर्णाली र मधेस केन्द्रित सकारात्मक विभेदको स्पष्ट कार्यक्रम रडारमा कतै देखिँदैन,’ मल्लले भने।

सरकारले ल्याएको नयाँ चरणको आर्थिक सुधारको पनि स्पष्ट नभएको उनको जिकिर थियो। उनले भने, ‘सरकारले नयाँ चरणको आर्थिक नीति त अघि सारेको छ, तर त्यसको पिलर र ड्राइभर के हो स्पष्ट छैन।’

सम्बन्धित समाचार