काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा तारा मानन्धरले पदभार ग्रहण गरेका छन् । बैंक सञ्चालक समितिको निर्णयअनुसार उनलाई २०८३ जेठ १ गतेदेखि लागू हुने गरी सीईओ पदमा नियुक्त गरिएको हो ।
नियुक्तिसँगै मानन्धरले बिहीबारदेखि औपचारिक रूपमा पदभार ग्रहण गरेको बैंकले जनाएको छ ।
बैंकिङ तथा व्यवस्थापन क्षेत्रमा लामो अनुभव हासिल गरेका मानन्धरले यसअघि विभिन्न वाणिज्य बैंक तथा वित्तीय संस्थामा उच्च व्यवस्थापकीय जिम्मेवारी सम्हालिसकेका छन् । उनी मिडिया नेटवर्क लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतका रूपमा समेत कार्यरत रहेका थिए ।
बैंक सञ्चालक समितिका अनुसार मानन्धरको नेतृत्वले संस्थागत सुशासन, रणनीतिक विकास तथा डिजिटल बैंकिङ सेवा विस्तारमा थप प्रभावकारिता ल्याउने अपेक्षा गरिएको छ ।
पदभार ग्रहणपछि उनले बैंकलाई दीर्घकालीन लक्ष्यतर्फ अघि बढाउँदै ग्राहक सेवा गुणस्तर सुधार, कर्मचारीको मनोबल वृद्धि तथा सरोकारवालाको विश्वास सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले बैंकलाई राष्ट्रिय अर्थतन्त्रमा थप योगदान दिन सक्षम वित्तीय संस्थाका रूपमा विकास गर्ने लक्ष्यसहित अघि बढ्ने बताए।