जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु, दुई जना गम्भीर

0 Shares

काठमाडौं । जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ। इच्छाकामना–१ कुलबाङकी छ वर्षकी नमुना चेपाङको च्याउ खाँदा आज बिहान घरमै मृत्यु भएको हो। उनी हात्तीबाङस्थित राष्ट्रिय माध्यमिक विध्यालयमा कक्षा २ मा अध्ययनरत थिइन्। उनको शव भरतपुर अस्पताल ल्याइँदै छ। च्याउ खाएरै सजन चेपाङ र मनिता चेपाङसमेत गम्भीर बिरामी परेका छन्। उनीहरूलाई उपचारका लागि भरतपुर अस्पतालमा ल्याइएको छ। उनीहरू तिनै जना एकै परिवारका हुन्।

सजन हात्तीबाङ स्कुलमा कक्षा ३ र मनिता कक्षा ५ मा अध्ययनरत छन्। गत मङ्गलबार च्याउ खाएका उनीहरू बिरामी हुँदा पनि घरमै थिए। आज बिहान नमूनाको मृत्यु भएपछि मात्रै गाउँलेहरू घटनाबारे थाहा पाएका थिए। त्यसपछि बिरामी परेका सजन र मनितालाई गाउँले मिलेर अस्पताल ल्याइएको हात्तीबाङ स्कुलका प्रधानाध्यापक लोकबहादुर मगरले जानकारी दिए ।

‘हात्तीबाङ स्कुल नजिकै स्वास्थ्य संस्थामा बिहान ल्याएको देखेपछि मैले नै गाडी खोजेर सँगै भरतपुर अस्पताल ल्याएको छु, च्याउ खाँदा एक जनाको निधन भइसकेकाले दुई जनालाई बचाउन अस्पताल पुर्याउन सफल भएका छौँ, उनीहरूको उपचार भइरहेको छ,’ प्रधानाध्यापक मगरले भने ।

बिरामी परेकामध्ये अहिले १२ वर्षकी मनिता चेपाङको गम्भीर अवस्थामा भरतपुर अस्पतालमा उपचार भइरहेको छ। अस्पतालका वरिष्ठ फिजिसियन एवं सहायक मेसु डा प्रमोद पौडेलले मनिताको अवस्था गम्भीर रहेकाले भेन्टिलेटरमा राखेर उपचार गर्न लागिएको जानकारी दिए ।

सम्बन्धित समाचार