नाइमाको वार्षिक साधारण सभा सम्पन्न

0 Shares

काठमाडौँ । नेपाल अटो मोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को पहिलो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

उक्त सभाले स्थापनादेखि हालसम्मका प्रमुख उपलब्धि र सिकाईहरुको विश्लेषण गर्दै आगामी वर्षका कार्यक्रम ,संस्थागत संरचना र रणनीतिक योजनाहरु औपचारिक रुपमा पारित गरेको छ ।

स्थापनाको छोटो अवधिमा नै संस्था देशको मोबिलिटी क्षेत्रको एकिकृत र शसक्त आवाजका रुपमा स्थापित हुन सफल भएको एसोसिएसनका अध्यक्ष रितु सिंह वैद्यले बताइन् ।

त्यस्तै, कार्यकारी निर्देशक राजकुमार दुलालले आर्थिक वर्ष २०८१/८२ को लेखा परीक्षण प्रतिवेदन, वार्षिक कार्यक्रम तथा वित्तिय प्रतिवेदन, र आगामी वर्षको कार्यक्रम तथा वित्तिय योजना प्रस्तुत गरे ।

नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले आर्थिक वर्ष २०८१/८२ को लेखा परीक्षण प्रतिवेदन वार्षिक कार्यक्रम तथा वित्तिय प्रतिवेदन र आगामी वर्षको कार्यक्रम तथा वित्तिय योजना प्रस्तुत गर्दै संस्थाको दीर्घकालिन उद्देश्य हाँसिल गर्न प्रभावकारी कार्ययोजना, पारदर्शिता र जिम्मेवार वित्तीय व्यवस्थापनप्रति कार्यालयको प्रतिवद्धता दोहोर्याए । सदस्यहरुले नाइमाले सक्रिय र प्रभावकारी रुपमा गरिरहेको काम प्रति प्रशंसा व्यक्त गर्दै आपत्कालिन अवस्थामा राज्यका निकायहरुलाई सहयोग गर्न पाउँदा आफूहरु गौरवान्वित भएको बताए ।

यसैगरी सभाले २०८२/८३ का कार्यक्रम पारित गर्यो, जसमा नियमित मोबिलिटी सम्बाद, क्षमता अभिवृद्धि तालिमहरु, क्षेत्रगत अध्ययन अनुसन्धान, नीतिगत वहस पैरवी, नाइमा नेपाल मोबिलिटी एक्स्पोका आयोजना लगायतका विषयहरु सामेल छन् । नाइमाले आगामी मोबिलिटी एक्स्पो २०८३ श्रावण २६ गतेदेखि ३१ गते सम्म भृकुटीमण्डपमा आयोजना गर्ने तयारी गरेको छ ।

सभाले संस्थागत सुदृढिकरण अन्तर्गत सदस्य आकाश गोल्छाको नेतृत्वमा स्ट्राटेजी तथा मेम्बरसिप अफेयर्स कमिटी गठन गर्ने र मेगाटेक ग्रुप प्रालिलाई नयाँ सदस्यको रुपमा स्वागत गर्दै कम्पनीका सुरेश लोहनीलाई रिसर्च, मिडिया तथा डेटा कमिटीमा सदस्यको रुपमा मनोनित गरेको छ ।

सम्भावित र योग्य ब्राण्डहरुलाई समावेश गर्दै मोबिलिटी क्षेत्रका सामूहिक हितका विषयमा नियमित सम्बाद जारी राख्ने प्रतिबद्धता साधारण सभामा व्यक्त गरिएको छ । सभाको समापन गर्दै अध्यक्ष वैद्यले सबै सदस्यहरुलाई धन्यवाद दिँदै नेपाली मोबिलिटी क्षेत्रको दीर्घकालिन उन्नतिका लागी नाइमाले सक्रिय भुमिका खेलिरहने प्रतिवद्धता व्यक्त गरिन् ।

सम्बन्धित समाचार