काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले लक्ष्य निर्धारण गरी लक्ष्यअनुसार रकम बचत गर्न सक्ने ‘गोल बेस्ड सेभिङ्ग’ योजना सार्वजनिक गरेको छ । यस योजनामा बैंकको मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले बचत सुरुवात गरी भविष्यमा गर्नुपर्ने आफ्ना योजनाको सजिलैसँग वित्तीय व्यवस्थापन गर्न सक्ने छन् ।
यो योजनामा ग्राहकले न्यूनतम् ५० हजार रुपैयाँदेखि अधिकतम् पाँच लाख रुपैयाँसम्मको लक्ष्य रकम बचत गर्न सक्ने छन् । यस योजनामा आफ्नो लक्ष्य र उक्त लक्ष्य प्राप्तिका लागि आवश्यक रकम निर्धारण गरी बचतको अवधि न्यूनतम् ६ महिनादेखि अधिकतम् २ वर्षसम्मको लक्ष्य राख्नुपर्ने हुन्छ ।
ग्राहकले आफ्नो निर्धारित लक्ष्य प्राप्त गर्न मासिक कति पैसा बचत गर्नुपर्ने होरु कति ब्याजदर प्राप्त गर्ने हो? र उक्त लक्ष्य कति समयमा पूरा हुन्छ? भन्ने जानकारी मोबाइलबाटै प्राप्त गर्न सक्ने छन् । यस योजनामा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले विभिन्न शीर्षकमा समेत बचत सुरुवात गरी भविष्यमा गर्नुपर्ने आफ्ना योजनाको वित्तीय व्यवस्थापन गर्न सक्ने छन् ।
मासिक आवश्यक रकम सीधै प्राथमिक बचत खाताबाट राख्ने वा आफैले तोकिएको मितिमा मासिक आवश्यक रकम राख्ने भन्ने विकल्प पनि हुन्छ । साथै, ग्राहकले आफूले इच्छाइएको रकमसमेत ‘गोल बेस्ड सेभिङ्ग’मा टप अप गर्न सक्ने छन् ।
उक्त योजनामा राउण्डअप सेभिङ्गको सुविधा पनि रहेको छ । राउण्डअप सेभिङ्गअन्तर्गत ग्राहकले हरेक मर्चेन्ट क्युआर भुक्तानी गर्दा कति पैसा उक्त निर्धारित लक्ष्य योजनामा बचत गर्ने भन्ने सुविधासमेत पाउने छन् ।
यस राउण्डअप सेभिङ्गमा नियरेस्ट टु, फ्ल्याट र प्रतिशत गरी तीन फरक विकल्प रहेका छन् । यस राउण्डअप सुविधा ग्राहकले आफ्नो आवश्यकता अनुरुप सक्रिय तथा निस्किृय गर्न सक्ने छन् । साथै, विकल्प पनि आवश्यकता अनुरुप परिवर्तन गर्न सक्ने छन् ।
नियरेष्ट टु छनौट गर्दा कतिको नजिकको रकम गर्ने भनेर उल्लेख गर्नुपर्ने हुन्छ । उदाहरणका लागि २२४ रुपैयाँ मर्चेन्ट क्युआरमा भुक्तानी गर्दा २५ मा सेट गरिएको छ भने १ रुपैयाँ निर्धारित लक्ष्य योजनामा बचत हुन्छ र ३० मा सेट गरिएको छ भने ६ रुपैयाँ निर्धारित लक्ष्य योजनामा बचत हुन्छ ।
फ्ल्याट रकम विकल्पमा छनौट गर्दा हरेक कारोबारमा कति रकम उक्त निर्धारित लक्ष्य योजनामा बचत गर्ने भन्ने हुन्छ । जस्तै १०० रुपैयाँ फ्ल्याट रकम विकल्पमा छनौट गरिएको छ भने हरेक मर्चेन्ट क्युआरमा भुक्तानी गर्दा १०० रुपैयाँ उक्त निर्धारित लक्ष्य योजना बचत हुनेछ ।
प्रतिशत विकल्प छनौट गर्दा हरेक क्यूआर भुक्तानीको रकममा निर्धारित प्रतिशत रकम उक्त लक्ष्य योजनामा बचत हुनेछ । जस्तै १० प्रतिशत छनौट गरिएको छ भने २०० रुपैयाँको क्युआर भुक्तानी गर्दा २० रुपैयाँ उक्त लक्ष्य योजनामा बचत हुन्छ । उक्त निर्धारित लक्ष्य योजनाको बचत रकममा बैंकले उच्चतम् ब्याजदर प्रदान गर्ने छ ।
यस योजनाअन्तर्गत बचत गर्नको लागि बैंकको मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले आफ्नो मोबाइल बैंकिङ्ग एप ग्लोबल स्मार्ट प्लसमार्फत् सीधै बचत गर्न सक्ने छन् । साथै, उक्त योजना आबद्ध भएका ग्राहकले निर्धारित समयअगावै यस खाता बन्द गर्न सक्ने छन् । यस योजनाको सम्पूर्ण प्रक्रिया आफैले मोबाइल बैंकिङ्गबाट संचालन गर्न सकिने छ ।
आफ्नो ‘गोल बेस्ड सेभिङ्ग’को सम्पूर्ण कारोबारको विवरण ग्राहकले ग्लोबल स्मार्ट प्लसमार्फत् हेर्न सक्ने सुविधासमेत रहेको छ । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ र २०२५ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गत दुई विधामा नेपालको सर्वश्रेष्ठ बैंक, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५ मा बेष्ट बैंकको रुपमा सम्मानित बैंक हो ।
ग्लोबल आइएमई बैंक मुलुकको सबै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजारभन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाली नागरिकलाई बैंकिङ सेवा प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत अन्य देशबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।