मर्स्याङ्दी नदी खसेको बसका घाइते भन्छन्- हाम्रो ज्यान बच्यो, सबैलाई धन्यवाद

0 Shares

काठमाडौं । तनहुँको आँबुखैरेनीस्थित मर्स्याङ्दी नदीमा शुक्रबार बिहान भएको बस दुर्घटनामा घाइते भई त्रिवि शिक्षण अस्पतालमा उपचाररत १६ जनामध्ये सात जना डिस्चार्ज भएका छन् ।

पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय पर्यटक सवार युपी ५३ एफटी ७६२३ नम्बरको बस आँबुखैरेनीको ऐना पहरामा दुर्घटनामा परेको थियो ।

अस्पतालका डा. रोहित सिंहले भने, “बस दुर्घटनामा घाइते भएका १६ जनालाई उपचारका लागि अस्पतालमा ल्याइएकामा आज सात जनालाई डिस्चार्ज गरेका छौँ, बाँकी नौ जनाको उपचार भइरहेको छ, सबैको अवस्था सुधारोउन्मुख छ ।”

आज डिस्चार्ज हुनेमा ५६ वर्षीया भारती पाटील, ४२ वर्षीया बर्षाभङ्गाणे, ७० वर्षीया कुमुदिनी झाम्रे, ४९ वर्षीया रुपाली सरोदे, ५९ वर्षीय हेमराज सरोदे, ४५ वर्षीया निलिमा भिरुड, ६५ वर्षीय सुनिल धाण्डे रहेको अस्पतालले जनाएको छ ।

बाँकी नौ जना घाइतेमध्ये चार जनाको आइसियुमा उपचार भइरहेको छ । हाल ५१ वर्षीय प्रविन पाटील, ५३ वर्षीय अविनास पाटील, ५९ वर्षीय अनन्त इङ्णे, ४७ वर्षीया सिमा इङ्णे, ५८ वर्षीया आशा बोण्डे, ६२ वर्षीय नैनेश्वर बोण्डे, ५० वर्षीया शारदा पाटील, ४७ वर्षीया रेखा सुरवाडे तथा ५८ वर्षीया आशा पाटील उपचाररत रहेको अस्पतालले जनाएको छ ।

उपचार गराइरहेका ५९ वर्षीय अनन्त इङ्णेले आफूहरुको स्वास्थ्य अवस्थामा सुधार आइरहेको बताए । “हामीले राम्रो उपचार पाएका छौँ, समयमै राम्रो उपचारका कारण हाम्रो ज्यान बच्यो, सबैलाई धन्यवाद छ,” उनले भने ।

दुर्घटनामा २७ जना भारतीय पर्यटकले ज्यान गुमाएका थिए । मृत्यु भएकाको शव परीक्षण गरी भारतीय वायु सेनाको जहाजमार्फत भारत लगिएको छ । उनीहरू भदौ ४ गते पशुपतिनाथको दर्शनका लागि काठमाडौं आउँदै थिए ।

सम्बन्धित समाचार