काठमाडौं । पछिल्लो समय विश्व राजनीतिमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाडेर भागेसँगै तरङ्ग भएको छ । करिब १६ वर्ष प्रधानमन्त्री पदमा बसेकी हसिना देशमा भएको आन्दोलन थेग्न नसकेपछि भारत पुगेकी थिइन् ।
भारतमा रहेकी हसिनाले आफूसँग अमेरिकाले सेन्ट मार्टिन टापु मागेसँगै नदिएपछि सत्ताच्युत गराएको दाबी गरेकी थिइन् । यसअघि उनले अमेरिका जान भिसा प्रक्रिया अगाडि बढाएकी थिइन् । यस क्रममा उनलाई अमेरिकाले भिसा दिएको थिइन । उनको छोरासहित अधिकांश परिवार अमेरिका बस्दै आएका छन् ।
हसिनाको कुरा मान्ने हो भने, अमेरिकाले मागेको यो टापु मात्र तीन वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यो टापुबाट सबैभन्दा नजिकको दुरी म्यानमार हो । जुन पाँच माइल अर्थात आठ किलोमिटर मात्रै टाढा छ ।
ढाका ट्रिब्यूनका अनुसार यो टापु १८ औँ शताब्दीमा अरबी व्यापारीले बसाएका थिए । उनीहरूले यसको नाम ‘जजिरा’ राखेका थिए । त्यसपछि ब्रिटिसले उपनिवेश बनाएर कब्जा जमाएको थियो ।
चटगाउँका उपायुक्तको नाममा यस टापुलाई ‘सेन्ट मार्टिन’ भनिएको हो । यस टापुलाई बंगाली भाषामा ‘नारिकेल जिन्जिरा’ (नारियल टापु) वा दारुचिनी द्वीप (दालचीनी द्वीप) भनिन्छ ।

यो टापुमा पर्यटनसँगै कृषि तथा व्यापारका लागि महत्त्वपूर्ण मानिन्छ । यस टापुमा ९ वटा गाउँ छन् । यी गाउँहरूमा तीन हजार सात सय बासिन्दा बस्दै आएका छन् । उनीहरूको मूल पेशा माछा मार्ने हो । यहाँका किसानहरूले आफ्नो उत्पादन नजिकै रहेको म्यानमारमा बेच्दै आएका छन् ।
यो टापु भौगोलिक रुपमा महत्वपूर्ण स्थान हो । यहाँबाट चीन र भारतमाथि गहिरो प्रभाव पार्न सकिन्छ । डेली स्टारका अनुसार कुनै देशले सेन्ट मार्टिनमा सैन्य अड्डा बनाउन सके यसले मलाक्का स्ट्रेट नजिकैको किनार प्राप्त गर्ने छ । चीनले यातायातका लागि यो मार्ग प्रयोग गर्दै आएको छ ।
सन् १९३७ मा म्यानमार ब्रिटिस शासनबाट अलग भएपछि यो टापु ब्रिटिस इन्डियाको हिस्सा बनेको थियो । सन् १९४७ मा भारतले स्वतन्त्रता पाएपछि पनि बेलायतले यस टापुमा आफ्नो नियन्त्रण कायम राखेको थियो । तर, केही समयपछि पाकिस्तानले नियन्त्रणमा लिएको थियो ।
सन् १९७१ मा पाकिस्तान अलग भएपछि बंगलादेशले यस टापुमाथि आफ्नो नियन्त्रण कायम गरेको थियो । द डेली स्टारको रिपोर्ट अनुसार सन् १९७४ मा बंगलादेश र म्यानमार दुवैले सेन्ट मार्टिन टापुमा बंगलादेशको नियन्त्रण रहने सहमति गरेका थिए ।
सन् २०१८ मा म्यानमारले आफ्नो आधिकारिक नक्सामा ‘सेन्ट मार्टिन टापु’लाई आफ्नो भागको रूपमा घोषणा गरेको थियो । तर, बंगलादेशको आपत्तिपछि परराष्ट्र मन्त्रालयले आफ्नो गल्ती स्वीकार गर्दै यो नक्सा हटाएको थियो ।
यसअघि धेरै पटक म्यानमारका सेनाले यस क्षेत्रमा बंगलादेशी नागरिकमाथि आक्रमण गरिसकेका छन् । रिपोर्टका अनुसार रोहिंग्याहरूले म्यानमारबाट भागेर बंगलादेश छिर्नका लागि समेत यो टापु प्रयोग गर्दै आएका छन् ।