काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले दसैँका बेला घर जाने नागरिकका लागि सार्वजनिक यातायातको सहज, सुरक्षित र व्यवस्थित व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सचेतक परियारले दसैँमा देशका विभिन्न भूभागबाट नागरिक आ–आफ्नो घर फर्किने भएकाले यात्राका क्रममा विगतमा जस्तो सास्ती भोग्नुपर्ने अवस्था आउन नदिन सरकारको ध्यानाकर्षण गराए ।
उनले दसैँका समयमा लाखौँ नागरिकले सार्वजनिक सवारीसाधनमार्फत यात्रा गर्ने भएकाले उनीहरूको यात्रालाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन सरकारले अहिलेदेखि नै आवश्यक तयारी थाल्नुपर्ने बताए।
हरेक वर्ष दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट मात्रै १५ लाखभन्दा बढी नागरिक आफ्नो थातथलो फर्किने गरेको तथ्याङ्क प्रस्तुत गर्दै सचेतक परियारले विगतमा यात्रुले भोग्दै आएको समस्या यसपटक दोहोरिन नदिन सरकार गम्भीर हुनुपर्ने बताए।
‘पहिले त टिकट पाउनै महाभारत, अनि भेडाबाख्राझैँ कोचिएर यात्रा गर्नुपर्ने बाध्यता । एकातिर बाटोका खाल्डाखुल्डीले थिलथिलो बनाउँछ भने अर्कोतिर मनपरी भाडाले नागरिक प्रताडित छन्’, उनले भने।
उनले देशभरका मुख्य राजमार्गमा रहेका खाल्डाखुल्डी तत्काल पुर्ने तथा सडकको अवस्था सुधार गरी यातायात सहज बनाउन सरकारलाई आग्रह गरे।
साथै, दसैँका लागि हुने सार्वजनिक यातायातको टिकट बुकिङलाई व्यवस्थित गर्न, यात्रुले सहज रूपमा टिकट पाउने व्यवस्था मिलाउन तथा सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु नराख्ने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न उनले सरकारको ध्यानाकर्षण गराए।