दुबई । दुबईका शासक शेख मोहम्मद बिन राशिद अल मकतुमका कान्छा भाइ शेख अहमद बिन राशिद अल मकतुमको ७६ वर्षको उमेरमा निधन भएको छ ।
दुबईका शासकको दरबारले सोमबार उनको निधनको घोषणा गर्दै अमिरातभर १० दिनको आधिकारिक शोक घोषणा गरेको छ । शोक अवधिभर दुबईका सबै सरकारी तथा सार्वजनिक स्थानमा राष्ट्रिय झण्डा आधा झुकाइने जनाइएको छ ।
शेख अहमद दुबईको सत्तारुढ अल मकतुम परिवारका प्रमुख सदस्य थिए । उनले आफ्नो सार्वजनिक जीवनमा सैन्य, सुरक्षा, व्यवसाय तथा खेलकुदका क्षेत्रमा विभिन्न जिम्मेवारी सम्हालेका थिए ।
सन् १९५० मा जन्मिएका शेख अहमदले बेलायतस्थित रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्टबाट सैन्य प्रशिक्षण लिएका थिए । त्यसपछि उनले दुबईको सैन्य तथा सुरक्षा निकायमा सेवा गरेका थिए । उनी दुबई प्रहरी तथा सार्वजनिक सुरक्षाका उपाध्यक्षसमेत बनेका थिए ।
सुरक्षा क्षेत्रबाहेक उनले व्यवसाय तथा सार्वजनिक सेवाका क्षेत्रमा पनि विभिन्न जिम्मेवारी सम्हाले । उनी एआरएम होल्डिङ र दुबई रियल इस्टेट सेन्टरका अध्यक्ष तथा समूह अध्यक्षका रूपमा कार्यरत थिए । उनी संयुक्त अरब इमिरेट्सको चर्चित फुटबल क्लब अल वस्लका अध्यक्षसमेत थिए ।
शेख अहमद घोडदौड र फुटबलसँग पनि निकट रूपमा जोडिएका थिए । दुबईस्थित जेबेल अली रेसकोर्सको विकासमा उनको महत्वपूर्ण भूमिका रहेको बताइन्छ । अल वस्लको अध्यक्षका रूपमा रहँदा क्लबले सन् २००६/०७ को संयुक्त अरब इमिरेट्स लिगको उपाधि जितेको थियो ।
उनी दुबईका दोस्रो उपशासकका रूपमा समेत कार्यरत थिए ।
उनको निधनपछि संयुक्त अरब इमिरेट्सका विभिन्न नेता तथा अधिकारीले शोक व्यक्त गर्दै शेख मोहम्मद बिन राशिद अल मकतुम र अल मकतुम परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
उनको अन्त्येष्टिका लागि दुबईस्थित जाबिल ग्रान्ड मस्जिदमा अन्तिम प्रार्थनाको व्यवस्था गरिएको जनाइएको छ ।
शेख अहमदको निधनसँगै दुबईले सैन्य, सुरक्षा, व्यवसाय तथा खेलकुदका विभिन्न क्षेत्रमा लामो समय योगदान दिएका सत्तारुढ परिवारका एक प्रभावशाली सदस्य गुमाएको छ ।
पोखरामा फ्लाई दुबईको पहिलो उडान स्वागत समारोह स्थगित
यसैबिच, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री गनेश पौडेलले शेख अहमदको निधनप्रति दुःख व्यक्त गर्दै पोखरामा हुने भनिएको फ्लाई दुबईको पहिलो उडान स्वागत समारोह स्थगित गरिएको जानकारी दिएका छन् ।
मन्त्री पौडेलका अनुसार बुधबार साँझ पोखरामा फ्लाइदुबईको पहिलो उडानलाई स्वागत गर्ने कार्यक्रममा उनी सहभागी हुने तय भएको थियो । तर शेख अहमदको निधनपछि दुबईमा घोषित शोकलाई सम्मान गर्दै औपचारिक स्वागत समारोह रद्द गरिएको उनले फेसबुकमार्फत जानकारी दिएका हुन् ।
यद्यपि, फ्लाइदुबईको उडान भने निर्धारित समयमै पोखरा आउने र स्थानीय अधिकारीहरूले विमानको स्वागत गर्ने उनले जानकारी दिएका छन् । त्यसैले आफू स्वागत कार्यक्रममा सहभागी नहुने पौडेलले बताएका छन् ।
पौडेलले शेख मोहम्मद बिन राशिद अल मकतुम, अल मकतुम परिवार तथा दुबईका जनताप्रति समवेदना व्यक्त गर्दै मृतात्माको चिरशान्तिको कामना गरेका छन् । उनले दुःखको यस घडीमा नेपाल दुबईका जनताको साथमा रहेकोसमेत बताएका छन् ।