काठमाडौं । बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनाका छोरा सजीव वाजेद जोयले शनिबार आफ्नी आमाले शरणका लागि आवेदन दिएको हल्लालाई अस्वीकार गरेका छन् ।
एएनआईसँगको एक विशेष अन्तर्वार्तामा जोयले आफू वा आफ्नो परिवारले सत्ताको लोभ नराखेको र बंगलादेशको हितका लागि काम गर्नु प्राथमिक प्रेरणा रहेकोमा जोड दिए ।
‘यी सबै हल्ला हुन्, मेरी आमाले कतै पनि शरणका लागि आवेदन दिनु भएको छैन, उहाँले आफ्नो जीवनको अधिकांश समय बंगलादेशमा बिताउनु भएको छ र देश बाहिर बस्ने उहाँको कुनै चाह छैन, यस कार्यकालको अन्त्यमा उहाँको योजना सेवानिवृत्त भएर आफ्नो गाउँको घरमा बस्ने थियो, उहाँ आफ्नो घर फर्कन चाहनुहुन्छ,’ उनले भने ।
शेख हसिनाको राजनीतिमा फर्कने योजनाको बारेमा सोधिएको प्रश्नमा उनले थपे, ‘यस विषयमा म जवाफ दिन सक्दिनँ, उहाँलाई नै सोध्नु पर्ने छ, मेरो परिवारमा हामीमध्ये कसैलाई पनि शक्ति वा राजनीतिको लोभ छैन, मेरो परिवारका बाँकी सदस्यहरू विदेशमा बसोबास गर्दै आएका छन्, म लगभग ३० वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएको छु, तर हामी हाम्रो देशका लागि काम गर्न चाहन्छौँ ।’
जोयले बंगलादेशमा लोकतन्त्र र कानून व्यवस्था पुनर्स्थापना गर्न आफ्नो परिवारको प्रतिबद्धता पनि व्यक्त गरे । ‘हामी देशको यस्तो अवस्था हेर्न सक्दैनौँ, लोकतन्त्र पुनर्स्थापना गर्न, कानूनी व्यवस्था पुनर्स्थापना गर्न, हाम्रा देशका जनतालाई सुरक्षित राख्न जे आवश्यक छ, हामी गर्ने छौँ,’ उनले भने ।
उनले बंगलादेशमा अल्प संख्यकको दुर्दशा र कानून प्रवर्तनको अभावलाई पनि प्रकाश पारेका थिए ।