काठमाडौं । फ्रान्सका सुपरस्टार फुटबलर केलियन एम्बाप्पेले रियल म्याड्रिडसँग औपचारिक सम्झौता गरेका छन् । गत महिनामा एम्बाप्पेलाई भित्र्याउने घोषणा गरेको रियलले आज औपचारिक सम्झौता गरेको हो ।
यसअघि एम्बाप्पले आज मेडिकल परीक्षणसमेत गरेका थिए । रियल म्याड्रिडले एम्बाप्पेलाई आफ्नो स्टेडियममा फ्यानहरू समक्ष प्रस्तुत गरेको छ ।
२५ वर्षीय एम्बाप्पे फ्री ट्रान्सफरमा रियल म्याड्रिड आएका हुन् । एम्बाप्पेले रियलमा पीएसजीभन्दा १० मिलियन युरो कम पारिश्रमिक पाउने सम्झौता गरेका छन् ।
पीएसजीमा उनले करिब २५ मिलियन युरो वार्षिक पारिश्रमिक थियो । रियल म्याड्रिडले १५ मिलियन युरो दिने बताइएको छ । यसपछि पनि एम्बाप्पेले रियलमा सबैभन्दा बढी पारिश्रमिक भएको खेलाडी बन्ने छन् । उनले रियल म्याड्रिडमा ९ नम्बरको जर्सी लगाउने छन् ।
मिडिया रिपोर्टका अनुसार रियल म्याड्रिडले एम्बाप्पेलाई फ्रि ट्रान्सफरमा साइन गरे पनि उनलाई करिब ११० मिलियन डलर साइनिङ रकम दिने बताइएको छ । रियल म्याड्रिडले एम्बाप्पेलाई पछिल्लो सात वर्षदेखि भित्र्याउने प्रयासमा रहेको थियो ।
सन् २०१७ मा फ्रेन्च क्लब मोनाकोबाट लोनमा पीएसजी पुगेका एम्बाप्पे ०१८ देखि पीएसजीको खेलाडी बनेका थिए । अहिलेसम्म पीएसजीका लागि उनले ३०८ खेलमा २५६ गोल गरेका छन् ।
पीएसजीमा रहँदा उनले ६ सिजन फ्रेन्च लिग जितेका छन् । चार सिजन फ्रेन्च कोपा डे जितेका छन् । त्यस्तै २०१९(२० सिजनमा पीएसजी च्याम्पियन्स लिगको उपविजेता बनेको थियो ।