प्रचण्डसँग किन डराउँदै छन् केपी ओली ?

0 Shares

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’माथि दबाब बढाउँदै लगेका छन् । कांग्रेसको संसदीय दलको बैठकले संविधानको धारा ७६(२) बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीलाई बनाएर जाने निर्णय गरेर प्रचण्डलाई प्रेसर दिएका हुन् ।

एमालेले सत्ता आफ्नो हातमा आउने निश्चित जस्तै भएपछि प्रचण्डलाई दीर्घ कालीन असर पर्ने गरी कुनै निर्णय नगर्न आग्रह गरेको छ । एमालेले एक विज्ञप्ति जारी गरेर प्रचण्ड अल्पमतमा परेकाले महत्वपूर्ण निर्णय नगर्न अनुरोध गरेको हो ।

आइतबार एमाले संसदीय दलको बैठकमा बोल्दै एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई तत्काल राजीनामा दिन आग्रह गरेका छन् । बैठकपछि संसदमा एमाले प्रतिपक्षको बेन्चमा बसिसकेको छ ।

प्रचण्डले असार २८ गते विश्वासको मत लिने निर्णय गरे पनि त्यो बिचमा देशी विदेशी शक्तिले खेलेर आफूलाई रोक्न सक्ने संकेत पाएपछि ओलीले प्रचण्डमाथि एकपछि अर्को गर्दै दबाब बढाएका हुन् । कांग्रेसकै शेखर कोइराला पक्ष संविधानको ७६(३) अर्थात संसदको ठूलो दलको हैसियतले आफै दाबी गर्नु पर्ने भन्दै प्रचण्डसँग भेटेर लविङ गर्न थालेका थिए ।

शुक्रबार र शनिबार कोइरालाले प्रचण्डलाई भेटेर सत्ता ओलीलाई नभएर कांग्रेसलाई छाड्ने गरी वातावरण मिलाउन लविङमा लागेका छन् । यी सबै घटनाक्रम नजिकबाट हेरेका ओलीले सत्ता खोसेर आफूलाई रोक्न भयका कारण प्रधानमन्त्रीलाई छिटो राजीनामा दिन आग्रह गरेका हुन् ।

यता प्रधानमन्त्री प्रचण्ड आफू बाहिरिने पक्का भए पनि आफू अनुकूलको सत्ता समीकरण बनाउन लागि परेका छन् । सकेसम्म पुरानै गठबन्धन ब्यूँताएर देउवा वा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाइ सत्ता छाड्न खोजेका छन् । त्यसका लागि राष्ट्रपतिदेखि कानूनविद्सँग परामर्श गरेर ७६(३)मा जान खोजेका छन् ।

त्यसो भएमा देउवालाई अघि सार्न सहज हुने प्रचण्डको अनुमान छ । तर, पछिल्लो समय राजनीतिक घटनाक्रम ओली नै प्रधानमन्त्री हुने गरी विकसित हुँदै गएको छ ।

संविधान संशोधनदेखि सत्ता सञ्चालनमा कांग्रेस-एमालेबीच सहमति भएकाले प्रचण्डले सोचे जस्तो राजनीति बढ्ने देखिएको छैन । यस्तो अवस्थामा प्रचण्ड तेस्रो कार्यकाल पनि सहज सत्ता हस्तान्तरण गरेर बाहिर निस्किँदा जनतामा राम्रो सन्देश जाने राजनीतिक विश्लेषकहरू बताउँछन् ।

सम्बन्धित समाचार