कांग्रेस-एमालेको सरकार गठनमा यस्तो छ सहमति

0 Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी बनेको नेपाली कांग्रेस र नेकपा एमालेबीच केपी शर्मा ओली दुई वर्ष प्रधानमन्त्री, बाँकी समय शेरबहादुर देउवाको नेतृत्वमा चुनाव सरकार बन्ने सम्झौता भएको छ ।

दुई चरणमा हुने सरकार गठनमा अध्यक्ष ओलीपछि सभापति देउवा प्रधानमन्त्री बन्ने सहमति भएको हो । संविधानको धारा ७६ (२)अन्तर्गत सरकार बनाउन चाहेका यी दलले संविधानको व्याख्याबारे राष्ट्रपति कार्यालयको स्पष्टता चाहेका छन् ।

ललितपुरमा एमाले महासचिव शंकर पोखरेल र कांग्रेस प्रमुख सचेतक रमेश लेखकसहितको छलफलमा दुई नेता पालैपालो प्रधानमन्त्री हुने गरी सहमतिको खाका तयार भएको थियो ।

स्रोतका अनुसार गठबन्धन दलहरूले प्रदेश सरकारलाई पनि टुंगोमा पुर्याउने गरी काम सहमति भएको छ । मधेस प्रदेशको बारेमा कुनै सहपति हुन सकेको छैन ।

यस्तै, संविधान संशोधनका लागि प्रारम्भिक सहमतिको खाका तयार गरेका छन् । जसमा समानुपातिक प्रतिनिधित्वका आधारमा चुनिएर आउने सांसदलाई राष्ट्रियसभा लैजाने, उपराष्ट्रपतिलाई सभाको अध्यक्ष बनाउने सहमति भएको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको सिट संख्याबारे पुनर्विचार गर्न सकिनेबारे पनि छलफल अगाडि बढेको छ । पालिकाको संख्यासमेत घट्ने सम्भावना छ भने वडा संख्या वृद्धि हुन सक्ने छ । संविधान पुनरावलोकनका लागि पूर्वन्यायाधीशको नेतृत्वमा समिति बनाउने तयारी भएको छ ।

प्रदेशसभामा समानुपातिकको प्रावधान हटाएर प्रत्यक्ष निर्वाचित मात्रै राख्नेबारे छलफल भएको छ । नेताहरूले गरेको सहमतिमा देउवा र ओलीले हस्ताक्षर गरे राति नै सहमतिले पूर्णता पाउने विश्वास व्यक्त गरिएको छ ।

सम्बन्धित समाचार