काठमाडौं । टी २० विश्वकपमा भारत १७ वर्षपछि विजयी भएको छ । वेष्ट इण्डिज र अमेरिकामा सम्पन्न विश्वकपमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले विश्वकपको उपाधि जितेको हो ।
सम्पन्न विश्वकपमा अपराजित हुँदै भारतले दोस्रो पटक विश्वपक हात पारेको हो । यसअघि सन् २००७ को पहिलो टी २० विश्वकपको उपाधि जितेको थियो ।
वेस्ट इण्डिज र इंग्ल्याण्डपछि भारतले दुई पटक टी २० विश्वकपको उपाधि जित्ने टोलीमा नाम लेखाउन सफल भएको हो ।
भारतले दिएको एक सय ७७ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा एक सय ६९ रन मात्र बनाउन सक्यो ।
योसँगै पहिलोपटक फाइनल पुगेको दक्षिण अफ्रिका उपाधि रक्षा गर्ने इतिहास बनाउनबाट बञ्चित हुन पुग्यो । दक्षिण अफ्रिकाका लागि हेनरिच क्लासेनले अर्धशतकीय इनिङस खेले । उन २७ बलको सामना गर्दै २ चौका र ५ छक्का प्रहार गरे ।
त्यस्तै, क्वीनटन डी ककले ३१ बलमा ३९ रन जोडे । उनले ४ चौका र १ छक्का हिर्काए । ट्रिस्टन स्टब्सले २१ बलमा ३१ रनको योगदान दिए । डेभिड मिलरले १७ बलमा २१ रन बनाए ।
भारतका लागि हार्दिक पाण्ड्याले तीन विकेट लिए । उनले ३ ओभर बलिङ गर्दै मात्र २० रन खर्चिए । अर्शदीप सिंह र जसप्रित बुमराहले २–२ विकेट हात पारे । अक्षर पटेलले एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा एक सय ७६ रन बनाएको थियो ।
भारतका लागि विराट कोहलीले सर्वाधिक ७६ रन बनाए । यसअघिका खेलमा निराशाजनक प्रदर्शन गर्दै आएका उनले फाइनल खेलमा ५९ बलको सामना गर्दै ६ चौका र २ छक्का प्रहार गरे ।
कप्तान रोहित शर्मा मात्र ९ रन बनाएर पभेलियन फर्किए । ऋषभ पन्त शून्य रन बनाएर आउट भए । सूर्यकुमार यादव ३ रन जोडेर कागिसो राबाडाको शिकार बने । यस अवस्थामा भारत दबाबमा थियो ।
अन्तिम अवस्थामा कोहली र अक्षर पटेलले ५४ बलमा ७२ रनको साझेदारी गरे । रन आउट हुनअघि पटेलले ३१ बलमा ४७ रन बनाए । उनले १ चौका र ४ छक्का प्रहार गरेका थिए । शिवम दुवेले २७ रनको महत्त्वपूर्ण इनिङ्स खेले ।
दक्षिण अफ्रिकाका लागि केशव महाराज र एनरिच नोर्टजेले २–२ विकेट लिए । मार्को यानसेन र कागिसो रबाडाले १–१ विकेट हात पारे ।