काठमाडौँ । युरोपियन च्याम्पियनसिप फुटबलको १७ औँ संस्करणअन्तर्गत आजबाट नकआउट चरण सुरु हुँदै छ। प्रतियोगितामा समूह चरणबाट अन्तिम–१६ मा पुगेका टोलीबीच क्वार्टरफाइनल पुग्ने दौड आजबाट सुरु भएर मंगलबार सकिने छ।
हरेक दिन २–२ खेल हुनेछन्। प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा पुग्ने टोलीको टुंगो मंगलबार राति हुने अस्ट्रिया र टर्कीबीचको खेलबाट तय हुनेछ।
शनिबार पहिलो खेलमा स्वीट्जरल्यान्ड र इटाली ९ः१५ मा भिड्दा अर्को खेलमा जर्मनी र डेनमार्क राति १२ः४५ मा भिड्ने छन्। त्यस्तै, आइतबार इंग्ल्यान्ड र स्लोभाकिया पहिलो खेलमा भिड्दा स्पेन र जर्जिया दोस्रो खेलमा भिड्ने छन्।
प्रतियोगिताअन्तर्गत सोमबार हुने खेलमा फ्रान्स र बेल्जियम भिड्दा राति हुने खेलमा पोर्चुगल र स्लोभानिया प्रतिपर्धा गर्नेछन्। त्यस्तै, मंगलबार रोमानिया र नेदरल्यान्ड्स ९ः४५ मा भिड्दा अन्तिम खेलमा अस्ट्रिया र टर्की राति १२ः४५ मा भिड्ने छन्।
साविक विजेता इटालीलाई स्वीट्जरल्यान्डको चुनौती
नकआउटचरणको पहिलो खेलमा इटालीले स्वीट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्दै छ। नेपाली समयअनुसार राति ९ः४५ मा सुरु हुने खेलमा दुबै टोली अन्तिम आठमा पुग्ने लक्ष्यसहित मैदानमा उत्रिँदै छन्। पछिल्लो पटक यी दुई टोलीको भिडन्त विश्वकप छनोटका दौरान भएको थियो। २०२१ मा भएको उक्त छनोटमा समूह ‘सी’ मा रहेका दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए।
जारी प्रतियोगितामा इटाली समूह ‘बी’को उपविजेता बनेर नकआउटमा पुग्दा स्वीट्जरल्यान्ड भने समूह ‘ए’को उपविजेताका रुपमा अन्तिम १६ मा पुगेको थियो। विश्व फुटबलमा इटाली र स्वीट्जरल्यान्ड निकै पुराना प्रतिद्वन्द्वीका रुपमा रहेका छन्। यी दुई टोलीबीच हालसम्म कुल ६० खेल हुँदा २९ खेलमा इटालीले स्वीट्जरल्यान्डलाई हराउँदा सात खेलमा स्वीट्जरल्यान्डले इटालीलाई पराजित गरेको छ। यसको अर्थ इटाली बलियो दाबेदार हो।
यी टोलीबीच २४ खेल भने बराबरीमा सकिएको छ। इटाली र स्वीट्जरल्यान्ड सन् १९११ को मे ७ तारिखमा पहिलो पटक एकआपसमा भिडेका थिए। फिफा वरियतामा इटाली १०औँ र स्विट्जरल्यान्ड १९औँ स्थानमा रहेका छन्। युरोकपमा इटालीले ११ औँ खेलमा सहभागिता जनाउँदा इटालीले सन् १९६८ देखि युरोकपमा सहभागिता जनाउन थालेको हो।
सन् १९६८ र २०२० को च्याम्पियन इटाली पुनः एकपटक आफ्नो प्रभाव जमाउने प्रयासमा रहेको छ। साविक विजेताको हैसियतले कम्तिमा आफ्नो रवाफलाई कायम राख्दै क्वार्टरफाइनल पुग्ने लक्ष्यमा इटाली रहने छ। त्यसो त सन् २०१२ र सन् २००० मा पनि इटाली फाइनल पुगे पनि उपविजेता मात्र बनेको थियो। त्यस्तै, उपाधिविहीन रहेको स्वीट्जरल्यान्ड आफ्नो बलियो दाबेदारी दिँदै साविक विजेतालाई हराएर सनसनी मच्चाउने प्रयासमा रहेको छ।
घरेलु टोली जर्मनीलाई डेनमार्कको डर
त्यस्तै, नकआउटको दोस्रो खेलमा शनिबार मध्यरातमा घरेलु टोली जर्मनीले डेनमार्कको सामना गर्दै छ। नेपाली समयअनुसार राति १२ः४५ मा सुरु हुने खेलमा आयोजक घरेलु दर्शकमाझ आफ्नो रवाफ कायम राख्न चाहन्छ। डेनमार्क भने आयोजकमाथिको मानसिक दबाबको फाइदा उठाउने धुनमा मैदान उत्रिने छ।
जर्मनी जारी प्रतियोगिताको समूह ‘ए’को विजेताका रुपमा नकआउटमा प्रवेश गर्दा डेनमार्क भने समूह ‘सी’को उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो। समूह चरणमा बलियो देखिएको जर्मनी फिफा वरियतामा पनि डेनमार्कभन्दा अघि रहेको छ। जर्मनी १६औँ र डेनमार्क २१औँ वरीयतामा छन्।
जर्मनी युरोकपको सबैभन्दा बढी संस्करण खेल्ने टोली बनेको जर्मनीले तीनपटक युरोकपको उपाधि जितेकाले पुनः अर्को उपाधि जित्ने लक्ष्यमा रहेको छ।
जर्मनी र डेनमार्कबिच एकअर्काविरुद्ध समग्रमा कुल २८ खेल हुँदा १५ खेलमा जर्मनीले डेनमार्कलाई हराएको छ। त्यस्तै, डेनमार्कले भने आठ खेलमा मात्र जर्मनीलाई पराजित गरेको छ। बाँकी पाँच खेल बराबरीमा सकिएको छ।
जर्मनीले सन् १९९७, १९८० र १९९६ मा गरी ३ पटक युरोकप जितेको छ। युरोकप फुटबलमा १०औँ पटक सहभागिता जनाइरहेको डेनमार्कले यसअघि १९९२ मा युरोकपको उपाधि चुमेको थियो। त्यसैले डेनमार्क पुनः एकपटक १९९२ दोहोर्याउन चाहन्छ। उसले उक्त फाइनलमा जर्मनीलाई नै २–० ले हराएर उपाधि जितेको थियो।
पछिल्लो पटक यी दुई टोलीबीच मैत्रीपूर्ण खेलमा सन् २०२१ को २ जुनमा प्रतिस्पर्धा भएको थियो। उक्त खेल १–१ गोलको बराबरीमा सकिएको थियो। त्यसैले दुवै टिम आफ्नो पछिल्लो प्रदर्शन सुधार्दै अर्को एउटा जित सँगै युरोकपको उपाधि अभियानमा अघि बढ्ने लक्ष्यमा रहेका छन्।