काठमाडौं । नेकपा एकीकृत समाजवादीको दशौँ महाधिवेसन असार १६ गतेदेखि २० गतेसम्म काठमाडौंमा हुँदै छ । पार्टी विधान बमोजिम २१ पदाधिकारीसहित २९९ केन्द्रीय कमिटी हुने व्यवस्था छ ।
महाधिवेसनबाट अध्यक्ष माधवकुमार नेपाल सर्वसम्मत निर्णय गराएर पुनः अध्यक्षमा दोहोरिने मनस्थितिमा छन् । नेपालाई अप्ठ्यारो पार्ने गरी सम्मानित नेता खनाल र महासचिव घनश्याम भुसालले निकटता बढाएका छन् ।
बुधबार खनाल निवास डल्लुमा सम्मानित नेता खनालसहित महासचिव भुसाल र युवा नेता नरेश शाहीसमेत सहभागी भए । तीन नेतासँगको भेटमा खनालले भावी अध्यक्षमा भुसाललाई सघाउने समझदारी भएको सार्वजनिक भयो ।
लगत्तै सचिवालयमार्फत खनालले एक विज्ञप्ति जारी गरेर आफू र महासचिव भुसालबीच नेतृत्व छोड्ने वा सघाउने विषयमा कुनै समझदारी नभएको उल्लेख गरे । पार्टीको वैचारिक, राजनीतिक र महाधिवेसनसँग सम्बन्धित विषयमा छलफल भएको भन्दै खनालले खण्डन गरे ।
आफै अध्यक्षमा लड्ने मनस्थित बनाएका खनाल तत्कालीन एमालेमा हुँदा एउटै क्याम्पमा भएका भुसाललाई सघाउने बचन दिइसकेको एक नेताले बताए । पार्टीका वैचारिक नेता भुसाललाई भावी अध्यक्षमा सघाएर अध्यक्ष नेपाललाई चुनौती दिने खनालको रणनीति छ ।
पार्टीमा कमजोर भएका खनाल भुसाललाई अघि सारेर बलियो हुने दाउमा लागेका छन् । त्यसो भएमा नेपाललाई कमजोर बनाएर पार्टीको सबै निर्णयमा हाबी हुन खनाल लागेको ती नेताले बताए ।
उता अध्यक्ष नेपाल आफू सजिलै सर्वसम्मत हुनेमा ढुक्क जस्तै छन् । आफैले एमालेबाट विभाजन गरेर एकीकृत समाजवादी पार्टी गठन गरेकाले नेपाल अध्यक्ष हुन कुनै चुनौती नरहेको पोलिटब्यूरो सदस्य मेटमणि चौधरीले बताए ।
पार्टीबाट सर्वसम्मत रुपमा नेपाल अध्यक्ष हुनेमा कुनै शंका नरहेको चौधरीको दाबी छ । यदि, नेपाल अध्यक्षमै दोहोरिएमा खनाल सम्मानित नेताकै जिम्मेवारीमा रहेर भुसाल महासचिव वा वरिष्ठ उपाध्याक्ष हुने सम्भावना रहेको छ । त्यसो भएमा अरु पदाधिकारीमा नयाँ अनुहार आउने सम्भावना बढी देखिएको छ ।