काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीले वैदेशिक रोजगारी क्षेत्रका पीडितलाई न्याय दिलाउन माग गर्दै दशौँ दिन पनि नारासहित काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार विभाग घेराउ गरेको छ ।
नवौँ दिनसम्म वैदेशिक रोजगार विभागअगाडि धर्नासँगै घेराउ गर्दै आएका आन्दोलनकारीले सरकारले आफूहरूको माग सम्बोधन नगरेको भन्दै चर्को नारावाजी गरेका छन् ।
सरकार र विभागविरुद्ध नाराजुलुश गर्दै विभाग घेराउ गरिए पनि सरकारले नसुने जस्तै गरिरहेको उनीहरूको आरोप छ । सरकारले आफूहरुको माग सम्बोधन नगरेसम्म आन्दोलन जारी रहने उनीहरूले जनाएका छन् ।
आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले सरकारले आफूहरूको माग सम्बोधनमा ढिलाई गरेकाले आन्दोलनलाई थप कडा बनाउँदै अगाडि बढ्ने बताए ।
आईटी आर्मीले वैदेशिक रोजगारीमा जाने कामदारसँग लिएको अवैध रकम फिर्ता गराउन तथा यस क्षेत्रका विविध समस्या समाधान गर्नु पर्ने माग गर्दै विभाग घेराउसँगै धर्ना दिइएको हो ।
आईटी आर्मीका अध्यक्ष साहका अनुसार विदेश जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नु पर्ने, ठग मेनपावर र ऐजेण्टलाई कारबाही गर्नु पर्ने, बेरोजगार युवाहरुलाई नेपालमै रोजगारी दिनु पर्नेलगायत माग राखिएको छ ।
सरकारले सम्बोधन नगरेकाले आन्दोलन गर्नु परेको उनको भनाइ छ । यसअघि आईटी आर्मीले ११ बुँदे मागसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का साथै विभागलाई ज्ञापन पत्र बुझाइसकेको छ ।