काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलमार्फत् अर्थतन्त्र र कूटनीतिमा महत्त्वपूर्ण हस्तक्षेप गर्न विशेष पहल लिएको बताएका छन् ।
साहना प्रधान प्रतिष्ठानद्वारा आयोजित अन्डर १९ भलिबल प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्रीले समग्र खेल क्षेत्रको विकास र खेलाडीमा उत्साह र प्रोत्साहनलाई आफूले विशेष ध्यान दिँदै आएको दाबी गरे ।
“युवा तथा खेलकूदको क्षेत्रलाई उच्च प्राथमिकता दिँदै आएको छु,” प्रधानमन्त्री प्रचण्डले भने, “खेलाडीहरूको वृत्ति विकास, उनीहरूलाई प्रोत्साहन र खेलमार्फत् अर्थतन्त्र र कूटनीतिमा महत्त्वपूर्ण हस्तक्षेपका निम्ति मैले विशेष पहल लिँदै आएको छु ।”
नेपालको भूबनोट र संस्कृतिका दृष्टिले भलिबल अत्यन्तै सम्भावनायुक्त खेल विधा भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आफू दोस्रोपटक प्रधानमन्त्री हुँदा विशेष प्रस्ताव राखेर भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको स्मरण गरे । उनले उक्त ऐतिहासिक घोषणाले नेपालको भलिबल क्षेत्रका खेलाडीलाई राम्रो उत्प्रेरणा मिलेको विश्वास व्यक्त गरे ।
आगामी आर्थिक वर्ष राष्ट्रिय स्तरका ८० खेलकुद प्रतियोगिता आयोजना गर्ने, काठमाडौंको मूलपानी क्रिकेट रंगशाला र विराटनगरको गिरिजाप्रसाद कोइराला रंगशालालाई राष्ट्रिय गौरवका आयोजनाको रूपमा निर्माण गर्ने लक्ष्य लिइएको बताउँदै प्रधानमन्त्री प्रचण्डले भरतपुरमा निर्माणाधीन गौतम बुद्ध रङ्गशाला संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा निर्माण कार्य अगाडि बढाउने, कीर्तिपुर क्रिकेट रंगशालाको स्तरोन्नति र फाप्ला क्रिकेट रंगशाला निर्माणलाई तीव्रता दिने बताए ।
कमरेड साहना प्रधान नेपाली वामपन्थी आन्दोलनको एक जना शिखर व्यक्तित्व भएको उल्लेख गर्दै प्रधानमन्त्रीले सामन्ती पञ्चायती व्यवस्थाविरूद्ध कठोर संघर्ष हुँदै २०४६ सालको जनआन्दोलनसम्म आउँदा संयुक्त वाममोर्चाको नेतृत्वदायी भूमिका निर्वाह गरेको बताए ।