काठमाडौं । जारी टी २० विश्वकपमा अष्ट्रेलियन फास्ट बलर प्याट कमिन्सले दुर्लभ कीर्तिमानी बनाएका छन् । उनले लगातार दुई खेलमा ह्याट्रिक विकेट लिँदै दुर्लभ कीर्तिमान बनाएका हुन् ।
कमिन्सले आइतबार बिहान अफगानिस्तानविरुद्ध सुपर ८ को खेलमा ह्याट्रिक विकेट लिँदै लगातार दुई खेलमा ह्याट्रिक लिने खेलाडी बनेका हुन् ।
कमिन्स टी २० विश्वकपको एकै संस्करणमा लगातार दुई खेलमा ह्याट्रिक विकेट लिने पहिलो खेलाडी बनेका हुन् । टी २० विश्वकप इतिहासमै दुई पटक ह्याट्रिक विकेट लिने उनी एक मात्र बलरसमेत बनेका छन् ।
सेन्ट भिनसेन्टस्थित अर्नो भेल स्टेडियममा जारी खेलमा कमिन्सले १८ औँ ओभरको अन्तिम बलमा अफगानिस्तानका कप्तान रासिद खानलाई आउट गर्दै पहिलो विकेट लिएका थिए ।
त्यसपछि २० औँ ओभरको पहिलो बलमा करिम जन्नत र दोस्रो बलमा गुल्वादिन नैवलाई आउट गर्दै ह्याट्रिक गरेका थिए ।
टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले राम्रो सुरुआत गरे पनि कमिन्सको ह्याट्रिक विकेटसँगै राम्रो रन बनाउन सकेको थिएन ।
यस खेलमा अफगानिस्तानले अष्ट्रेलियामाथि ऐतिहासिक जित हासिल गरेको छ । अफगानिस्तानले अष्ट्रेलियालाई २१ रनले पराजित गरेको हो ।
यो टी २० खेलमा अफगानिस्तानले अष्ट्रेलियालाई पराजित गरको पहिलो पटक हो । अफगानिस्तानले दिएको १४९ रनको लक्ष्य पछाएको अष्ट्रेलियाले १९.२ ओभरमा अल आउट हुँदै १२७ रन बनाएको थियो ।
अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले सर्वाधिक ५९ रन बनाए । अन्य ब्याट्सम्यानले उनलाई साथ दिन असफल भए ।
त्यस्तै अफगानिस्तानका बलरले यस खेलमा शानदार बलिङ गरेका थिए । अफगानिस्तानका लागि गुलबदीन नैबले सर्वाधिक ४ विकेट लिए । नवीन उल हकले ३ विकेट लिएका थिए । त्यस्तै मोहमद नावी र राशिद खानले एक एक विकेट लिएका थिए ।
यस अघि पहिला ब्याटिंग गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाउँदै १४८ रन बनाएको थियो । अफगानिस्तानका लागि रह्मानुल्लाह गुरबाजले सर्वाधिक ६० रन बनाए । इब्राहिम जद्रानले ५१ रन बनाएका थिए ।