काठमाडौं । नेपाली राष्ट्रिय टोलीका अलराउण्डर दीपेन्द्र सिंह ऐरीलाई युएईको आईएल टी २० लिग फ्रेञ्चाइजी गल्फ जायन्टलले रिटेन गरेको छ । गल्फ जायन्टले आउँदो सिजनका लागि रिटेन गरेका १३ खेलाडीमा दीपेन्द्र परेका हुन् ।
गल्फ जायन्टले ऐरीसहित जेम्स भिन्स, शिमरोन हेटमायर, क्रिस जोर्डन, आयान खान, जुहाइब जुबैर, ब्लेसिंग मुजरबानी, गेर्हार्ड इरास्मस, जेमी स्मिथ, रिचर्ड ग्लेसन, रेहान अहमद, जोर्डन कक्स र जेमी ओभरटनलाई रिटेन गरेको जानकारी दिएको छ ।
ऐरीले यसअघिको सिजनमा पनि गल्फ जायन्टमा सामेल भए पनि कुनै खेल खेल्न पाएका थिएनन् । आईएल टी २० को आउँदो सिजन ११ जनवरी २०२५ देखि शुरु हुँदै छ ।
यसअघि २०२३ र २०२४ गरी दुई सिजन सम्पन्न भएको यो टी २० लिगमा २०२३ को पहिलो सिजनमा गल्फ जायन्ट च्याम्पियन बनेको थियो । २०२४ मा एमआई इमिरेट्स च्याम्पियन बनेको थियो ।
यस लिगमा आईएल फ्रेन्चाइजीका मालिकले टिम बनाएका छन् । गल्फ जायन्ट आईएल टिम गुजरात जायन्टसका मालिक अदानी समूहको हो ।