काठमाडौं । नेपाली क्रिकेट टोलीका अलराउण्डर दिपेन्द्र सिंह ऐरीले विश्व वरियतामा छटौँ स्थानमा उक्लिँदै रेकर्ड बनाएका छन् । यसअघि कुनै पनि नेपाली खेलाडी यो स्थानमा पुग्न सकेका थिएनन् ।
टी २० क्रिकेट फम्र्याटमा ऐरीले भारतका हार्दिक पाण्डेयलाई समेत पछि पारेका छन् । यस क्रममा उनले तीन स्थान सुधार गरेका हुन् ।
आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा ऐरीले आफूलाई थप सुधार गरेका हुन् । यसअघि उनी नवौँ स्थानमा थिए । नेपालका ऐरीभन्दा अगाडि अष्ट्रेलियाका मार्कोस स्टोइनिस पहिलो स्थानमा रहेका छन् ।
यस्तै, दोस्रो स्थानमा श्रीलंकाका वानिन्दु हसराङ्गा, तेस्रो स्थानमा बंगलादेशका शाकिब अल हसन, चौथो स्थानमा अफगानीस्तानका महोमद नाबी र पाँचौ स्थानमा जिम्बावेका सिकन्दर राजा रहेका छन् ।
यसैगरी कुशल मल्ल एक स्थान तल खस्दै ३६ औँ स्थानमा पुगेका छन् । रोहित पौडेल ११ स्थान सुधार गर्दै ५५ औँ स्थानमा आइपुगेका छन् ।
गुल्सन झा ६ स्थान खस्किँदै ६८ औँ स्थानमा, कुशल भुर्तेल ४३ स्थान सुधार गर्दै ७० औँ स्थानमा, करण केसी ६ स्थान खस्किँदै ७५ औँ स्थानमा पुगेका छन् ।
ऐरीको नाममा सबैभन्दा कम ९ बलमा अर्ध शतक प्रहार गर्ने र एकै ओभरमा ६ छक्का प्रहार गर्ने विश्व रेकर्डसमेत रहेको छ ।