अखिल क्रान्तिकारीको ३२ वर्षे उमेर हद विधान अधिवेशनले निर्णय गर्ने

0 Shares

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी)को ३२ वर्षे उमर हद विधान अधिवेशनले निर्णय गर्ने भएको छ ।

अखिल क्रान्तिकारीको शुक्रबार काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकले उमेर हदको विषय विधान अधिवेशनबाट फाइनल हुने भएको हो । अखिल क्रान्तिकारीका उपाध्यक्ष मिलन एमसीले संगठनको उमेर हद विधान अधिवेशनबाट निर्णयमा पुगिने जानकारी दिए ।

‘संगठनमा साथीहरूले लामो समयदेखि ३२ वर्षे उमेर हद कायम हुनु पर्छ भनेर माग राख्नु भएको थियो, आजको केन्द्रीय समितिमा साथीहरुले उमेर हद तोकिनु पर्छ भनेर आवाज उठाउनु भयो,’ उनले भने, ‘बैठकले २३ औँ राष्ट्रिय सम्मेलनअघि विधान अधिवेसनबाट उमेर हद र संगठनिक संरचनाका विषयमा निर्णय गर्ने भएको छ ।’

काठमाडौंको कमलादीमा भएको केन्द्रीय समिति बैठकमा केही विद्यार्थी नेताहरुले ३२ वर्षे उमेर हद कायम हुनु पर्ने भन्दै प्लेकार्ड प्रदर्शन गरेका थिए । सोही क्रममा ३२ वर्षे उमेर हद कायम गर्ने र नगर्ने समूहबीच भनाभन समेत भएको थियो । अन्तिममा केन्द्रीय समिति बैठकले उमेर हद विधान अधिवेशनबाट निर्णय गर्ने गरेको हो ।

संगठनका अधिकांश नेताहरू उमेर हद तोक्नेभन्दा सम्मेलन समयमै गरेमा धेरै समस्या नहुने संगठनमा नेताहरूको जाम नहुने भनाइ छ । अखिल क्रान्तिकारीको हरेक दुई वर्षसम्म सम्मेलन गर्ने व्यवस्था छ ।

अध्यक्ष पञ्चा सिंह अध्यक्ष भएपछि एक वर्ष ढिला गरी सम्मेलन हुन लागेको छ । यसपटक अखिल क्रान्तिकारीभित्र निर्वाचनद्वारा नेतृत्व चयन हुने भएकाले महत्वका साथ हेरिएको छ ।

सम्बन्धित समाचार