एआईको मागले निर्यात रेकर्ड बनाएपछि दक्षिण कोरियामा ब्याजदर दुई वर्षकै उच्च

0 Shares

काठमाडौं । दक्षिण कोरियाको केन्द्रीय बैंकले बिहीबार ब्याजदर दुई वर्षकै उच्च विन्दुमा पुर्‍याएको छ । मुद्रास्फीति नियन्त्रण गर्न यो कदम चालिएका बैंकले जनाएको छ ।

कृत्रिम बुद्धिमत्ता (एआई)को मागका कारण निर्यात रेकर्ड उच्च तहमा पुगेपछि बैंकले आर्थिक वृद्धिदरको प्रक्षेपण पनि बढाएको छ । कोरियाली केन्द्रीय बैंकले ऋण लागत २५ आधार विन्दुले बढाएर ३.२५ प्रतिशत पुर्‍याएको छ । यो अगस्टपछिको पहिलो वृद्धि हो र मुद्रास्फीति दुई प्रतिशतको लक्ष्यभन्दा धेरै माथि रहेका बेला यो निर्णय आएको हो ।

गत महिना उपभोक्ता मूल्य सूचकांक २.८ प्रतिशत रह्यो । अस्थिर खाद्य र ऊर्जा खर्च हटाएर निकालिने मूल मुद्रास्फीति पनि त्यति नै रहेको छ । अधिकारीहरूले एशियाको चौथो ठूलो अर्थतन्त्रले यस वर्ष ३.९ प्रतिशत र सन् २०२७ मा ४.१ प्रतिशतले विस्तार हुने अपेक्षा गरेका छन् । एआईसम्बन्धी चिप्सको बलियो निर्यातका कारण यो सम्भव भएको हो ।

‘मध्यपूर्वमा तनाव कायमै रहे पनि विश्व अर्थतन्त्र एआईमा भएको बलियो लगानीका कारण ठोस वृद्धि प्रवृत्ति कायम राख्ने अपेक्षा छ,’ बैंकले भनेको छ । यसैबीच ऊर्जा मूल्य वृद्धिले प्रभाव फराकिलो बनाउँदै गएका कारण मुद्रास्फीति केही समयसम्म उच्च नै रहने प्रक्षेपण छ ।

सामसङ इलेक्ट्रोनिक्स र एसके हाइनिक्सजस्ता अग्रणी चिप्स निर्माता भएको दक्षिण कोरियाले यस वर्ष पहिलो पटक निर्यात एक ट्रिलियन डलर पुगिसकेको यसै महिना घोषणा गरेको थियो । विश्वव्यापी एआई विकासका कारण सेमीकन्डक्टरको माग बढेपछि यो सम्भव भएको हो । सन् २०२६ मा अहिलेसम्म संयुक्त राज्य अमेरिका, चीन र जर्मनी मात्रै यो कोसेढुंगा पार गरेका छन् ।

केन्द्रीय बैंकले भनेको छ, ‘फस्टाउँदो चिप्स क्षेत्रले निर्यात र लगानी वृद्धि बलियो बनाइराख्नेछ भने बढ्दो आम्दानी र सरकारी खर्च वृद्धिले उपभोगमा क्रमिक सुधारलाई सहयोग पुर्याउने अपेक्षा छ, भविष्यको वृद्धि मार्ग अनिश्चिततामा निर्भर छ, सेमीकन्डक्टर क्षेत्रको विस्तार घरेलु अर्थतन्त्रसम्म कति फैलिन्छ र मध्यपूर्वको अवस्था कस्तो हुन्छ भन्ने कुरा महत्त्वपूर्ण छ ।’ गभर्नर शिन ह्युन–सोङले यस सम्बन्धमा बिहीबार नै पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ ।

सम्बन्धित समाचार