काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा माओवादी केन्द्रको विधान अधिवेशनबाट प्रत्यक्ष निर्वाचन गर्ने निर्णय भएकाले आगामी दिनमा पार्टीभित्र प्रत्यक्ष निर्वाचन गर्ने र मनोनयन प्रथा अन्त्य गरिने दाबी गरेका छन् ।
अनेरास्ववियू (क्रान्तिकारी)को चौथो पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डले पार्टीका सबै निकायमा निर्वाचन प्रणाली लागु गरिने बताए ।
“विधान अधिवेशनबाट पार्टीमा प्रत्यक्ष निर्वाचन गर्ने निर्णय गरिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “मनोनयन गर्ने प्रथा अब रहँदैन, विद्यार्थीमा पनि प्रत्यक्ष निर्वाचन हुन्छ ।” उनले नेपालका कम्युनिष्टहरू एकताबद्ध गर्नु पर्नेमा जोड दिँदै उनले एकीकृत पार्टीको नेतृत्व आफू नेतृत्वको पार्टीले गर्न सक्नु पर्ने बताएका थिए ।
“हामी कमजोर छैनौँ, पार्टीको जनमत बढ्दै छ, पार्टी क्रमशः बलियो हुँदै गएको छ,” अध्यक्ष प्रचण्डले भने, “हामी एकताबद्ध हुँदा धेरै कुरा जित्न सकिन्छ, त्यसैले उच्च मनोबलका साथ जनतासँग एकाकार भएर काम गर्नु हाम्रो जिम्मेवारी हो ।”
पछिल्लो समय अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रस्तुति निकै शक्तिशाली भएको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय मञ्चबाट नेपालले विश्वलाई शक्तिशाली सन्देश दिएको बताए ।
माओवादी निर्णायक शक्ति भएर अगाडि बढिरहेको उल्लेख गर्दै उनले थपे, “कतिलाई लाग्छ– माओवादीले आफ्नो स्वतन्त्र अस्तित्व गुमाउँछ कि, तर यथार्थ त्यस्तो हुँदैन, हेर्दै जानु होला– माओवादी नै निर्णायक हुन्छ, हामी नै राजनीतिको केन्द्रमा रहन्छौँ ।”
आज पनि विचार र राजनीतिमा माओवादी श्रेष्ठ रहेको बताउँदै माओवादी प्रचण्डले माओवादी नेतृत्वप्रति जनताको भरोसा भएको बताए । उनले थप भने, “माओवादीलाई अपदस्त गर्न सकिन्छ, घेरा हाल्न सकिन्छ भन्ने लागेको होला, त्यो सम्भव छैन, अहिले पनि नेतृत्व हाम्रो नै छ ।”
सामाजिक सञ्जालमा धेरै खालका सामग्री आउने र त्यसमध्ये कतिपय भ्रामक हुने गरेको उल्लेख गर्दै तथ्यमा आधारित भएर उच्च मनोवलका साथ काम गर्न निर्देशन दिए ।