काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी असार १६ गतेदेखि २० गतेसम्म काठमाडौंमा दशौँ महाधिवेसन गर्ने घोषणा गरेको छ । नेकपा एमालेबाट २०७८ साल भदौ ९ गते छुट्टिएको तीन वर्षपछि पहिलो पटक महाधिवेसन गर्न लागेको हो ।
एकीकृत समाजवादीमा अध्यक्षबाहेक अरु कमिटीमा खासै विवाद हुने देखिएको छैन । प्रायः सबै कमिटी र पदाधिकारीसमेत सर्वसम्मत हुने नेताहरु बताउँछन् । तर, पार्टी अध्यक्षमा माधव नेपाललाई सम्मानित नेता झलनाथ खनालले चुनौती दिने सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् ।
नेपाल आफू अध्यक्षमा सर्वसम्मत निर्वाचित भएर चुनाव नगराउने पक्षमा छन् । चुनाव गराए पार्टीमा थप विवाद हुने र आफूलाई अध्यक्षमा दोहोरिन चुनौती बन्न सक्ने आंकलन गरेका छन् ।
यसैले पार्टीमा सबै कमिटी सर्वसम्मत हुने बताउँदै आएका छन् । तर, सम्मानित नेता खनालले आफू अध्यक्षमा प्रतिस्पर्धा गर्न लागेकाले सर्वसम्मत अध्यक्ष हुन नसक्ने अडानमा छन् ।
पार्टी केन्द्रीय कमिटीमा अध्यक्ष नेपालको बहुमत भएपछि संसदीय दलमा अल्पमतमा भएका खनालले चुनौती दिइसकेका छन् । कूल १० सिटमध्ये नेपालसहित उपाध्यक्ष राजेन्द्र पाण्डे र पोलिटब्यूरो सदस्य मेटमणि चौधरी मात्रै छन् ।
बाँकी सात जना सांसदहरू सम्मानित नेता खनालको पक्षमा खुलेर लागिसकेका छन् । यस्तो अवस्थामा पार्टीभित्र सर्वसम्मत हुने अवस्था नभएमा सम्मानित नेता खनालले चुनौती दिने आंकलन गरिएको छ ।
पूर्वप्रधानमन्त्री एवं तत्कालीन एमाले महासचिव १६ वर्ष चलाएका नेपाल पुनः अध्यक्ष भएर पार्टी हाक्ने सपना देखेका छन् । उनको सपनालाई तुसारापत गराउन पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्षसमेत भइसकेका खनाल लागि परेका छन् ।
नेपाल पक्षका नेताहरू एमाले-माओवादी गठबन्धन भत्काएर पुरानै समीकरण बनाएर जाने पक्षमा छन् । तर, खनाल पक्षका नेताहरू भने वामपन्थी शक्तिहरु मिलेर जाने उस्तै परे मोर्चाबन्दी हुँदै एकतामा जानु पर्ने तर्क गर्ने गरेका छन् ।
राजनीतिक लाइन र सत्ता समीकरणमा नेपाल र खनाल एक ठाउँमा नभएपछि अध्यक्षमा समेत खनालले सजिलै अध्यक्ष नछोड्ने बताउने गरेका छन् । नेपाल र खनाल पक्षको विवाद बाहिर आउन थालेपछि युवा संघमा आ-आफ्नो गुट बनाएर नेताहरू भिड्न थालिसकेका छन् ।
त्यति मात्रै होइन युवा संघका संयोजक कृष्ण विश्वकर्मा र सहसंयोजक नितेश पौडप पक्षले समानन्तर कमिटी बनाइसकेकमा छन् । त्यसको असर विस्तारै विद्यार्थी, मजदुर हुँदै अन्य जनवर्गीय संगठनमा सल्किन सक्ने आंकलन छ ।
तत्कालीन नेकपामा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल एक ठाउँमा उभिएका थिए । त्यसमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साथ दिएका थिए । अदालतले नेकपा फुटाएपछि ओली एमाले पुर्नगठन गरेर गएका थिए । प्रचण्ड आफ्नो पुरानै पार्टी माओवादी केन्द्र ब्यूँताएर गठन गरेका थिए ।
नेपाल र खनाल पक्षले एकीकृत समाजवादी पार्टी दर्ता गरेका थिए । त्यतिबेला खनाल उपचारको सिलसिलामा विदेश भएकाले सम्मानित नेताको रुपमा बस्न तयार भए । नेपाल अध्यक्ष भएर नेतृत्व गरे ।
अहिले खनालले पार्टी अध्यक्षमा चुनाव लडेरै भए पनि लिने दाउमा लागेका छन् । त्यसमा महासचिव घनश्याम भुसाल खनालको पक्षमा उभिएकाले नेपाललाई थप चुनौति हुन सक्ने आंकलन गरिएको छ । यसैबीच एक पोलिटब्यूरो सदस्यले महाधिवेशनमा चुनाव नगराई सम्पन्न गर्ने दाबी गरेका छन् ।