काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध चयन भएका छन् । पार्टीभित्र शक्तिशाली देखिँदै आएका अशोक राई समूहले पार्टी विभाजन गरेसँगै यादव ढुक्कले अध्यक्षमा चयन भएका हुन् ।
जसपा नेपालको महाधिवेशनअन्तर्गत आज सम्पन्न भएको उम्मेदवारी दर्ता प्रक्रियामा अध्यक्ष पदका लागि यादवको मात्रै उम्मेदवारी परेको थियो । उनको मात्रै उम्मेदवारी परेपछि अध्यक्ष पदमा उनी निर्विरोध भएका हुन् ।
अध्यक्ष पदमा यादव औपचारिक घोषणा मात्रै हुन बाँकी रहेको छ । तर, पार्टीभित्र अन्य पदका लागि निर्वाचन गर्ने तयारी भएको छ ।
यादवको नेतृत्वमा १८ वर्षअगाडि मधेसी जनअधिकार फोरम नेपाल गठन गरेका थिए । त्यति बेलादेखि उनी निरन्तर अध्यक्ष रहँदै आएका छन् ।
एउटा सहअध्यक्ष पदको लागि लालबाबु राउत, रकम चेम्जोङ र राजकिशोर यादवले उम्मेदवारी दिएका छन् ।
यस्तै, पाँच जना उपाध्यक्षका लागि १७ पुरुष र ६ महिला गरी २३ जनाको उम्मेदवारी परेको छ । पुरुषतर्फ मृगेन्द्रकुमार सिंह यादव, हरिनारायण यादव, आङ देन्डी शेर्पा, विद्युत बज्राचार्य, अर्जुन थापा, गोविन्द चौधरी, शिवलाल थापा मगर, सरोजकुमार यादव, मोहमद खालिद, प्रकाश अधिकारी, बच्चा राउत अहिर, सुरेन्द्रप्रसाद कुर्मी, रामबचन अहिर यादव, मानध्वज बलोन, अमरेशनारायण झा, राजन केसी र सुमनकुमार चौधरी उम्मेदवार छन् ।
महिलातर्फ रेखा यादव, लीलादेवी सिटौला, शोभा देवी, सुनी लामा, सविता यादव र राधा थापाको उम्मेदवारी परेको छ ।
दुई जना महासचिवका लागि बोमबहादुर दरलामी मगर (आदिवासी), रामकुमार शर्मा, विजय कुमार, दीपक कार्की, मनिषकुमार सुमन र अशोक कुमार यादवको उम्मेदवारी परेको छ ।
सहमहासचिवमा खुलातर्फ डा. सुरेन्द्रकुमार यादव, रामबाबु प्रसाद यादव, रामकिशोर प्रसाद यादव, राजकुमार राई, योगेन्द्र राई यादव, शैलेन्द्रप्रसाद साह, सुरेशकुमार मण्डल, डा. जय प्रकाश राई यादव र जयराम यादव तथा महिलातर्फ सीताकुमारी यादव, विनिताकुमारी यादव र निर्मला यादव उम्मेदवार छन् ।
कोषाध्यक्षमा रेणुकुमारी यादव, बलराम महतो र सञ्जयकुमार यादवको उम्मेदवारी परेको छ । यस्तै सचिवमा ३४ जनाले उम्मेदवारी दिएका छन् ।