काठमाडौं । गण्डकी प्रदेशसभाको प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले फनिन्द्र देवकोटालाई कारबाही गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई फ्लोर क्रस गरेर विश्वासको मत दिएको भन्दै देवकोटालाई कारबाही गर्ने निर्णय गरेको माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिए । उनले भने, ‘उहाँलाई २४ घण्टे स्पष्टीकरण सोधेका छाैँ, चित्त बुझ्ने जवाफ नआएका कारबाही हुन्छ ।’
देवकोटा डा. बाबुराम भट्टराई नेतृत्व नेपाल समाजवादी पार्टी (नेसपा)का नेता हुन् । तर, उनी माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचित भएका थिए ।
यस क्रममा देवकोटा आफू नेसपाकै सांसद भएकाले कारबाही गर्न नमिल्ने दाबी गरेका छन् । उनले कारबाही भए अदालत जाने संकेत गरेका छन् ।
माओवादीबाट निर्वाचित भएर पार्टीको ह्वीप उल्लङ्घन गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिएको भन्दै कारबाही गर्नु पर्ने आवाज उठेको थियो । माओवादी पार्टीभित्र कारबाही गर्नु पर्ने माग राखेपछि उनीमाथि आज प्रदेश कमिटीले कारबाही गर्ने निर्णय गरेको हो ।