मुख्यमन्त्री यादवले बुझाए प्रदेश प्रमुखसमक्ष राजीनामा

0 Shares

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष राजीनामा पत्र बुझाएका छन् । मुख्यमन्त्री यादवले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम पदबाट राजीनामा दिएको पत्रमा उल्लेख गरेका छन् ।

प्रदेश प्रमुखलाई सम्बोधन गरी पठाइएको राजीनामा पत्रमा उनले वर्तमान राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न राजीनामा दिएको बताएका छन् ।

उनले २०८२ मङ्सिर १९ गते संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भई कार्यभार सम्हालेको स्मरण गराउँदै शनिबार (कात्तिक २८ गते) देखि लागू हुनेगरी राजीनामा पेस गरेको उल्लेख गरेका छन् ।

राजीनामा पत्रमा आफ्नो कार्यकालमा प्रदेशको विकास, सुशासन र समृद्धिका लागि सहयोग पुर्‍याउने प्रदेश प्रमुख, प्रदेशसभाका सदस्य, मन्त्रिपरिषद्का सहकर्मी, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी तथा सम्पूर्ण प्रदेशवासीप्रति उनले आभार व्यक्त गरेका छन् ।

यसअघि आज दिउँसो प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले प्रदेशसभाको अंकगणितीय जोड घटाउमा अल्झिनुभन्दा प्रदेशमा स्थिर सरकार निर्माण र राजनीतिक निकासका लागि आफूले राजीनामा दिने निर्णय गरेको बताएका थिए ।

मुख्यमन्त्रीको राजीनामासँगै मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ ।

सम्बन्धित समाचार