काठमाडौं । गण्डकी प्रदेशसभामा कूल ६० सांसद छन् । सरकार बन्न ३१ मत चाहिन्छ ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दुई सिट, बाबुराम भटटराई नेतृत्वको नेपाल समाजवादी पार्टीको एक सिट र स्वतन्त्र सांसद दिपक मनाङ्गेले सोमबार विश्वासको मत दिएपछि सरकार जोगियो ।
तर, नेकपा माओवादी केन्द्रकै चुनाव चिन्ह लिएर निर्वाचित नेसपाका नेता फनिन्द्र देवकोटाले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएपछि माओवादीभित्र खैलाबैला मच्चिएको छ ।
माओवादीबाट निर्वाचित भएर पार्टीको ह्वीप उल्लङ्घन गरेर मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएपछि कारबाही गर्नु पर्ने आवाज उठेको छ । यदि, माओवादीले देवकोटालाई कारबाही गरे पनि मुख्मन्त्री पाण्डेलाई सरकार बनाउन असज हुँदैन ।
यदि देवकोटालाई माओवादीले कारबाही गरे संसदमा ५९ सांसद मात्रै हुने छन् । त्यस्तो अवस्थामा मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाउन ३० मत मात्रै ल्याए पुग्ने छ ।
त्यतिबेला कांग्रेसको २७ सांसद, राप्रपा दुई जना सांसद र दिपक मनाङ्गेले साथ लिए सजिलै सरकार जोगिने छ । यस्तो अवस्थामा देवकोटालाई कारबाही गर्ने विषय माओवादीलाई निल्नु न ओकल्नु जस्तै हुने देखिन्छ ।
तर, माओवादी केन्द्रका महासचिव देव गुरुङले दलको ह्वीप उल्लङ्घन गरेकाले सांसद देवकोटालाई कारबाही हुने बताए । वैधानिक रुपमा देवकोटा माओवादीकै सांसद भएकाले ह्वीप उल्लङ्घन गरेकाले प्रदेश कमिटीबाट सिफारिस आएपछि कारबाहीको प्रक्रिया अघि बढ्ने उनको भनाइ थियो ।
‘उहाँ (फनिन्द्र देवकोटा) नेसपाकै नेता भए पनि वैधानिक रुपमा माओवादी प्रदेश सांसद हुनुहुन्छ, पार्टीले मुख्यामन्त्रीलाई विश्वासको मत दिने कुरा थिएन, उहाँले ह्वीप उल्लङ्घन गरेर मत दिनु भयो,’ उनले भने, ‘गण्डकी प्रदेश समितिबाट पार्टीले कारबाहीको सिफारिस गरेपछि पार्टी केन्द्रले कारबाही प्रक्रिया अघि बढाउछ ।’
नेसपा अध्यक्ष भट्टराई पक्षका नेता रुपनारायण श्रेष्ठ उम्मेदवारी दर्ता गर्दा नेसपाबाटै गरेकाले माओवादी केन्द्रले कारबाही गर्न नमिल्ने जिकीर गरे ।
‘फनिन्द्र देवकोटाले चुनाव चिन्ह माओवादीकै लिए पनि दल नेसपाकै रुपमा दर्ता गर्नु भएको छ, त्यस हिसावले उहाँ नेसपाकै सांसद हुनु भयो,’ उनले भने, ‘यदि, माओवादीले उहाँ (फनिन्द्र देवकोटा)लाई प्रतिरोध साध्न कारबाही गरे न्यायका लागि निर्वाचन आयोग र अदालत जान्छौँ ।’
२०७९ मंसिर ४ गते भएको निर्वाचनमा नेसपा नेता देवकोटाले माओवादी केन्द्रको चुनाव चिन्ह हसिया हतौडा चिन्ह लिएर निर्वाचित भएका थिए । पार्टी एकता गर्ने गरी एउटै चुनाव चिन्ह लिएर माओवादी केन्द्र र नेसपाका नेताहरु चुनाव लडेका थिए ।
अन्तिममा भट्टराईले माओवादीसँग एकता नगर्ने नीति लिएपछि अहिले समस्या निम्तिएको छ । उता नेसपा अध्यक्ष एवं संघीय सांसद महेन्द्र राय सहित बागमती प्रदेशका सांसद गंगानारायण श्रेष्ठ भट्टराईसँग अलग भएर माओवादीसँग एकता गर्ने निर्णय गरी सकेका छन् ।
त्यसो हुँदा यादव र श्रेष्ठको हकमा समस्या छैन । तर, गण्डकी प्रदेशका सांसद देवकोटा भने भट्टराईसँगै रहेकाले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएपछि लफडा निम्तिएको हो ।