काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वैदेशिक रोजगारीमा गएका युवामाथि भएको दमनको जिम्मेवारी सरकार हुनु पर्ने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित आजपा निकट आइटी आर्मीको बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष साहले सरकारको ध्यानाकर्षण गराएका हुन् । यस क्रममा उनले रोजगारका लागि विदेश गएका कतिपयको हत्या हुने गरेको बताए ।
‘हामी देखिरहेका छौँ, दिनहुँ विदेशबाट युवाहरूको शव बाकसमा आइरहेको छ, नेपालबाट जानुअघि ती युवाहरूले स्वास्थ्य परीक्षण गरी कुनै रोग नलागेको प्रमाणित भएपछि मात्रै विदेश जान्छ,’ उनले भने, ‘निरोगिता प्रमाणित भएपछि विदेश पुगेका युवाहरूको लास किन आइरहेको छ ?, त्यसको जवाफ यो सरकारले दिनुपर्छ, त्यसको जिम्मेवारी यो सरकारले लिनुपर्छ, निरोगी युवाको विदेशमा मृत्यु किन भयो ? त्यो मृत्यु होइन हत्या भएको हो ।’
यस्तै, उनले योग्यता, क्षमता अनुसारको रोजगार र पारिश्रमिक सरकारले उपलब्ध गराउन नसक्दा बाध्य भएर युवाहरू खाडी मुलुक पुगिरहेको बताए । उनले नेताहरू नै वैदेशिक रोजगारीमा ठगी धन्दा चलाएको बताउँदै आइटी आर्मीले पर्दाफास गर्नु पर्ने बताए ।
नेपालमा भ्रष्टाचार, अनियमितता र लुटेर राखिएको कालो धनलाई रेमिटेन्ससँग साटेर विदेश लाने काम भइरहेको बताउँदै उनले यसबाट राज्यलाई अर्बौं रकमको नोक्सानी भइरहेको दाबी गरेका थिए ।
यस क्रममा आइटी आर्मीका अध्यक्ष चन्द्र भूषण साहको अध्यक्षतामा बसेको बैठकमा पार्टीका वरिष्ठ उपाध्यक्ष एवं संविधानसभा सदस्य तिलक थापामगर, उपाध्यक्ष ज्ञानेन्द्र तामाङ लगायतको सहभागिता रहेको आइटी आर्मीकी उपाध्यक्ष सुमन यादवले जनाएकी छन् ।