काठमाडौं । पछिल्लो केही दिनअघि काठमाडौंको व्यापारिक केन्द्र न्यूरोडमा सरकारविरुद्ध सरकारको सडकमा उत्रियो । स्थानीय तहको सरकार अर्थात काठमाडौं महानगर र संघीय सरकारले आफ्नो शक्ति प्रदर्शन गरे ।
काठमाडौं महानगरका प्रमुख मेयर बालेन साहले फुटपाथलाई फराकिलो बनाउने भन्दै न्यूरोड सडकमा काम गर्न थालेपछि संघीय सरकारले प्रहरी लगाएर काम रोकेको हो । उनले सडक विभागले बनाएको मापदण्डअनुसार आफूले काम गरेको दाबी गर्दै फुटपाथ बढाउन लागेको दाबी गरेका थिए ।
‘तीन फिटभन्दा बढी ढाकेर पार्किङ गर्दा न्यूरोड सडक साँघुरो नहुने, तर पार्किङ ओगट्ने ठाउँमा फुटपाथ बनाउँदा सडकमा गाडी कुद्नै साँघुरो हुने कसरी हुन्छ,’ मेयर साहले प्रश्न गर्दै भने, ‘सडक विभागले मापदण्डअनुसार दैनिक एक लाख र बजारको सिजनमा पाँच लाख हिँड्ने सडकमा फुटपाथ कत्रो चाहिन्छ ? मापदण्ड हेर्नुहोला, त्यो मापदण्ड पालना गर्न बनाइएको हो कि होइन ? सोध्नुहोला ।’
मेयर साहले न्यूरोडमा फुटपाथको काम रोकिने संकेत पाएपछि नेकपा एमालेका शक्तिशाली नेतासमेत रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठमाथि खनिएका थिए । उनले सडक विभागको कार्यालय प्रवेश गर्न नसक्ने गरी एक ट्रक फोहोर गेटमा फालिदिएका थिए ।
न्यूरोडमा फुटपाथ बनाउन नपाएपछि मेयर साह सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि खनिए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत प्रभावकारी शैलीमा प्रश्न उठाउन नसकेको अवस्थामा मेयर साह एक्लै भिड्ने मुडमा पुगेका हुन् ।
गिरिबन्धु टी स्टेटको जग्गा हिनामिना प्रकरणमा सर्वोच्च अदालतले पूर्णपाठ सार्वजनिक गर्दै तत्कालीन प्रधानमन्त्री ओलीले नीतिगत भ्रष्टाचार गरेको उल्लेख गरेपछि नै बालेन ओलीमाथि खनिदै आएका थिए । तर, न्यूरोडमा आफूले गर्न लागेको काममा ओलीले अवरोध गरेको भन्दै उनी ओलीमाथि खनिएका हुन् ।
‘झापास्थित गिरिबन्धु चिया बगान (गिरिबन्धु टी स्टेट)अन्तर्गत रहेको झण्डै ३४४ बिघा जग्गा साटफेर गर्न दिने तत्कालीन केपी ओली सरकारको निर्णयलाई सर्वोच्चको संवैधानिक इजलासले उक्त जग्गा सरकारले फिर्ता लिनु पर्ने फैसला गरेको छ,’ उनले भने, ‘अब त्यहाँ कि चिया बगान हुन्छ, कि त्यो जग्गा सरकारको हुन्छ ।’
गिरिबन्धु टी स्टेटबारे ओलीमाथि आक्रोशित बनेका मेयर साहले केही दिनअघि गम्भिर विषय उठान गरे । उनले ओलीले गिरिबन्धु टी स्टेट जग्गा प्रकरणमा १० हजार करोड अर्थात एक खर्ब रुपैयाँको काण्ठ लुकाउन न्यूरोडमा महानगरले गरेको काममा हस्तक्षप गरेको आरोप लगाए ।
‘१० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्यूरोडमा हामीले बनाउन लागेको फुटपाथ सडक बनाउन थाल्नु भएछ,’ उनले ओलीमाथि खनिदै भने, ‘समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला, नत्र कोही साँच्चिकै नयाँ आउला र फाइल पल्टाउला, हुन त पहिले पनि जेलमा बस्नु भएको हो, धन्यवाद ।’
आफ्नो प्रतिद्वन्द्वीमाथि खरो उत्रिने ओली मेयर साहको आरोपबारे बोल्न सकेका छैनन् । यो गिरिबन्धुको कुरा आइरहेको छ ? भन्ने पत्रकारको प्रश्नमा उनले दुई शब्दमा जवाफ दिए, ‘बालेनलाई सोध्नु ।’
केही दिनअघि मेयर साहबारे बोल्न नचाहेका अध्यक्ष ओलीले शुक्रबार चितवनको भरतपुरमा पुगेर झिँगाको संज्ञा दिए । गिरीबन्धु टी स्टेट जग्गा प्रकरणमा आफूमाथि खनिएपछि ओलीले बालेनलाई झिँगाको संज्ञा दिँदै घोचपेच गरेका हुन् ।
शुक्रबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीको प्रश्नमा ओलीले कसैसँग आफूले अनावश्यक विवादमा गर्न नचाहेको बताए । ‘भैँसीको ढाडमा झिँगा बस्यो कि के बस्यो रु त्यसले थाहा पनि पाएको हुँदैन, झिँगा दङ्ग परेको हुन्छ, चार लात हानेँ भनेर’, मेयर बालेनलाई लक्षित गर्दै ओलीले भने, ‘म कसैसँग अनावश्यक ढंगको विवादमा पर्न चाहन्नँ ।’
ओलीले आफूलाई झिँगाको संज्ञा दिएपछि मेयर साहले कस्तो प्रतिक्रिया दिने छन् भन्ने कौतुहलता उत्पन्न भएको छ ।