काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीको सोमबार सम्पन्न २०औं वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो।
कम्पनीको रजिस्टर्ड कार्यालय बाटुलेघर, डिल्लीबजारमा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत वित्तीय विवरण पनि पारित गरेको छ।
सभाले आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गरेको छ। साथै, कम्पनीको नियमावलीअनुसार गरिएको सञ्चालकको नियुक्तिलाई पनि अनुमोदन गरेको छ।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको सहायक कम्पनीका रूपमा रहेको सिटिजन्स क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएर सामूहिक लगानी कोषको व्यवस्थापन, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन, संस्थागत परामर्श, धितोपत्र प्रत्याभूति, सेयर रजिस्ट्रार तथा डिम्याट खातालगायत पूँजी बजारसँग सम्बन्धित विभिन्न सेवा दिँदै आएको छ।
कम्पनीमा कर्मचारी सञ्चय कोष तथा विभिन्न उद्योगी व्यवसायीको समेत लगानी रहेको छ । कम्पनीको अध्यक्षमा राजेन्द्रलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृतमा सविर बादे श्रेष्ठ रहेका छन् । काठमाडौं उपत्यकाबाहिर रहेका लगानीकर्तालाई पूँजी बजारमा प्रत्यक्ष सहभागी भई लगानी गर्न सहज पहुँच उपलब्ध गराउने उद्देश्यले कम्पनीले सिटिजन्स बैंक इन्टरनेशनलका देशभरका विभिन्न शाखामार्फत आफ्ना सेवासमेत उपलब्ध गराउँदै आएको जनाएको छ।