भोटेकोशी बाढीबाट उत्पादन क्षेत्रमा मात्रै डेढ खर्बको क्षति

0 Shares

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान आएको भीषण हिमबाढीका कारण उत्पादन क्षेत्रमा एक खर्ब ५० अर्ब ३७ करोड २९ लाख बराबरको क्षति भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उत्पादन क्षेत्रमा परेको क्षतिको पुनरुत्थानका लागि ५० अर्ब ७७ करोड ३५ लाख आवश्यक पर्ने देखिएको छ । जसमध्ये आर्थिक गतिविधि र जीवनयापनमा सबैभन्दा बढी ९७.२२ प्रतिशत असर पुगेको छ ।

त्यसैगरी, पशुधनमा ०.९६ प्रतिशत, कृषिमा ०.७३ प्रतिशत र बैंकिङ क्षेत्रमा ०.६१ प्रतिशत असर पुगेको छ । कृषि क्षेत्रमा एक हजार ८०६ हेक्टरमा रहेको बाली नोक्सान भएको छ । जसमध्ये सिँचाइ योग्य जमिन ६९७.०५ हेक्टर क्षेत्रफल छ । कृषि क्षेत्रमा एक अर्ब नौ करोड ३० लाखको क्षति भएको छ । यसको पुनरुत्थानका लागि एक अर्ब ४२ करोड लाग्ने अनुमान छ ।

प्राधिकरणका अनुसार माछापालन व्यवसायमा पनि असर परेको छ । माछापालन क्षेत्रमा कुल ७१ करोडको क्षति पुगेको छ । जसमा पशुपालन, कुखुरा पालन बढी प्रभावित भएको जनाइएको छ । यो क्षेत्रको पुनरुत्थानका लागि एक अर्ब ७३ करोड लाग्ने अनुमान छ ।

बाढीका कारण बैंकका १७ वटा शाखा कार्यालय प्रभावित भएका छन् । जसमा कुल ९१ करोड ९९ लाखको क्षति भएको छ । यसको पुनरुत्थानका लागि एक अर्ब आठ करोड आवश्यक छ ।

आर्थिक गतिविधि र जीवननिर्वाहका क्षेत्रमा ठूलो क्षति पुगेको छ । बाढीका कारण चार हजार ८०० व्यवसाय प्रभावित भएका छन् । यो क्षेत्रले एक खर्ब ६ अर्ब १९ करोड क्षति बेहोरेको छ भने यसको पुनरुत्थानका लागि ४५ अर्ब ४५ करोड लाग्ने अनुमान छ ।

सम्बन्धित समाचार