काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीपछि राहत तथा उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड ९२ लाख ५७९ रुपैयाँ मौज्दात रहेको छ।
कोषमा जम्मा भएको रकममध्ये नौवटा वाणिज्य बैंकमा रहेका खातामा ९ अर्ब ३२ करोड ६७ लाख ८२ हजार २३५ रुपैयाँ मौज्दात छ। त्यस्तै, दुईवटा वाणिज्य बैंकमा २ करोड १८ लाख ९ हजार ४४४ अमेरिकी डलर मौज्दात रहेको जनाइएको छ।
बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषबाट एक अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निकासा भइसकेको छ।
भोटेकोशी बाढीपछि सरकारले राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेको थियो। त्यसपछि स्वदेश तथा विदेशबाट विभिन्न व्यक्ति, संस्था तथा निकायले उपलब्ध गराएको रकम कोषमा जम्मा हुँदै आएको हो।
कोषमा अर्बौं रुपैयाँ जम्मा भए पनि बाढी प्रभावित क्षेत्रमा राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि थप रकम आवश्यक पर्ने देखिएको छ। सरकारले संकलित रकमको प्रभावकारी र पारदर्शी परिचालनमा ध्यान दिनुपर्ने देखिन्छ।