काठमाडौं । लुम्बिनीको सिद्धार्थनगरमा सञ्चालनमा रहेको पाँचतारे होटल बुद्ध रिजेन्सी लिमिटेडले सर्वसाधारणका लागि १५ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँका दरले १५ करोड रुपैयाँबराबरको साधारण सेयर निष्कासन गर्न लागेको हो। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ।
आईपीओ निष्कासनसम्बन्धी सम्झौतापत्रमा बिहीबार बुद्ध रिजेन्सीका सञ्चालक सुनिल अग्रवाल र लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरे। सम्झौता लक्ष्मी सन्राइज क्यापिटलको नयाँ बानेश्वरस्थित कार्यालयमा भएको हो।
कम्पनीले निकट भविष्यमा साधारण सेयर निष्कासन गर्ने जनाएको छ। आईपीओ निष्कासनका लागि आवश्यक प्रक्रिया पूरा गरी नियामकबाट स्वीकृति लिएपछि मात्रै सेयर निष्कासन तथा बिक्री प्रक्रिया अघि बढ्नेछ।
बुद्ध रिजेन्सी सिद्धार्थनगरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अगाडि सञ्चालनमा रहेको पाँचतारे स्तरको लक्जरी होटल हो। होटलले विन्डहम होटल्स एन्ड रिसोर्ट्ससँगको साझेदारीमा ‘रामाडा बाइ विन्डहम’ ब्रान्डअन्तर्गत सेवा दिँदै आएको छ।
होटलमा १०० भन्दा बढी सुविधासम्पन्न कोठा रहेका छन्। विवाह समारोहका लागि ठूला बैंक्वेट हल तथा कर्पोरेट सम्मेलनका लागि दुईवटा छुट्टै हलसमेत रहेको कम्पनीले जनाएको छ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गर्दै सञ्चालनमा आएको होटलले पर्यटन, व्यावसायिक सम्मेलन तथा विवाह समारोहलाई आफ्नो व्यवसायको मुख्य क्षेत्रका रूपमा अघि बढाउँदै आएको छ। सर्वसाधारणमा सेयर जारी गरेपछि कम्पनीको स्वामित्व संरचनामा सर्वसाधारणको समेत सहभागिता हुनेछ।