यी हुन् गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा ज्यान गुमाउने ६ जना, तीन घाइते

0 Shares

गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका २ अर्बेनीको दबौखानीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

दुर्घटनामा परी मृत्यु हुनेमा चालक स्याङ्जा वालिङ नगरपालिका २ का ६७ वर्षीय दिलीपकुमार बगाले, वालिङ नगरपालिका १० का ६० वर्षीय शिव पराजुली, गुल्मीको कालीगण्डकी गाउँपालिका १ सिरकोटका ५० वर्षीय लोकनाथ पाण्डे, सोही स्थानकी सीता पाण्डे र कुलानन्द पाण्डे तथा वालिङ नगरपालिका २ की नीता बगाले रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

मृत्यु हुनेमा पाँच जनाको घटनास्थल र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु भएकामध्ये सीता पाण्डे, कुलानन्द पाण्डे र नीता बगालेको उमेर खुल्न नसकेको प्रहरीले जनाएको छ । नीता बगालेको उपचारका क्रममा स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी सामुदायिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते हुनेमा कालीगण्डकी गाउँपालिका १ सिरकोटका छविलाल पाण्डे, सोही स्थानकी गोमता पाण्डे र स्याङ्जाको वालिङ नगरपालिका १० का बालकृष्ण सुवेदी रहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये छविलालको अवस्था गम्भीर रहेको छ भने गोमता र बालकृष्णको अवस्था मध्यम रहेको जनाइएको छ । उनीहरूमध्ये दुई जनाको मिर्मीस्थित कालीगण्डकी सामुदायिक अस्पताल र एक जनाको पाल्पास्थित मिसन अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

स्याङ्जाको वालिङबाट गुल्मीको कालीगण्डकी गाउँपालिका १ सिरकोट हुँदै राक्सेतर्फ जाने क्रममा बा ०२२० नम्बरको स्कार्पियो आज अपराह्न ४ बजेको समयमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार कालीगण्डकी गाउँपालिका २ दबौखानीस्थित भित्री सडकमा दुर्घटना भएको उक्त स्कार्पियो सडकबाट करिब २५० मिटर तल खसेको बताइएको छ ।

घटनाको जानकारी पाएपछि स्थानीवासी एवं प्रहरी चौकी पुर्तिघाट, इलाका प्रहरी कार्यालय रिडी र जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको प्रहरी टोलीकोे सहयोगमा उद्धार गरिएको थियो ।

दुर्घटनाको कारणबारेमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । दुर्घटनास्थल प्रहरी चौकी पुर्तिघाटबाट करिब छ किलोमिटर दक्षिणमा पर्दछ ।

सम्बन्धित समाचार