काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सले २१ लाख रुपैयाँ सहयोग गरेका छन् । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत बाढी प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा उपयोग गर्ने उद्देश्यले प्रदान गरिएको हो।
यसैगरी, एनआईबीएल इक्विटी पार्टनर्सका पोर्टफोलियो कम्पनीहरूले पनि प्रभावित समुदायको राहत तथा पुनर्स्थापनाका लागि सामूहिक रूपमा करिब ३५ लाख रुपैयाँ नगद सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। यससँगै एनआईएमबी एस क्यापिटल, एनआईबीएल इक्विटी पार्टनर्स तथा यसका पोर्टफोलियो कम्पनीबाट बाढी प्रभावितका लागि ५६ लाख रुपैयाँभन्दा बढी सहयोग जुट्ने भएको छ।
कम्पनीहरूले बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायत जिल्लाको पुनर्निर्माण तथा दीर्घकालीन विकासमा समेत आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। प्रभावित क्षेत्रको आर्थिक गतिविधिलाई चलायमान बनाउन भविष्यमा लगानीका अवसर विस्तार गर्ने तथा शाखा सञ्जालमार्फत पुँजी बजार र वित्तीय सेवाको पहुँच थप सहज बनाउने पहल गरिने जनाइएको छ।
यस्ता पहलले प्रभावित जिल्लाका परिवार तथा समुदायलाई वित्तीय सेवासँग जोड्न र दीर्घकालीन रूपमा स्थानीय आर्थिक विकासमा योगदान पुर्याउने विश्वास कम्पनीहरूले व्यक्त गरेका छन्। बाढीका कारण ज्यान गुमाएका नागरिकप्रति एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्स परिवारले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।