हङकङले नेपाललाई दियो २६२ रनको लक्ष्य

0 Shares

काठमाडौँ । एसिसी प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा हङकङले नेपाललाई २६२ रनको लक्ष्य दिएको छ। हङकङले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६१ रन बनाएको हो।

टस जितेर पहिले ब्याटिङ गरेको हङकङका लागि बाबर हायतले नटआउट शतक बनाए। उनले १२६ बलमा ७ चौका र ७ छक्कासहित ११७ रन बनाए।

शाहिद वासिफले ४५ रन बनाए। बाबर र एहसान खानले आठौँ विकेटका लागि १२८ रनको साझेदारी गरेपछि हङकङले चुनौतीपूर्ण स्कोर खडा गरेको हो। एहसानले ३५ रन बनाए।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले १० ओभरमा ४४ रन खर्चेर ४ विकेट लिए। शेर मल्लले १० ओभरमा २७ रन खर्चेर ३ विकेट लिए।

दिपेन्द्रसिंह ऐरीले १० ओभरमा ३६ रन दिए भने ललितनारायण राजवंशीले १० ओभरमा ४७ रन खर्चिए। करण केसीले ७ ओभरमा ६२ र गुल्सन झाले ३ ओभरमा ४० रन दिए।

नेपालले अब २६२ रनको लक्ष्य पछ्याउनेछ।

नेपाल लगातार तीन खेल जित्दै यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ। नेपालले पहिलो खेलमा बहराइनलाई ७ विकेट, दोस्रो खेलमा मलेसियालाई ६ विकेट र तेस्रो खेलमा साउदी अरेबियालाई ५ विकेटले हराएको थियो।

समूह ‘ए’मा ६ अंकसहित शीर्ष स्थानमा रहेको नेपालका लागि हङकङविरुद्धको खेल समूह विजेता बन्ने दृष्टिले महत्वपूर्ण छ। हङकङलाई भने सेमिफाइनल पुग्न यो खेल जित्नैपर्ने अवस्था छ।

सम्बन्धित समाचार