काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका लागि टेलिभिजन र ओटिटी प्रसारण अधिकार कुल ३३ करोड ५३ लाख रुपैयाँमा बिक्री गरेको छ । क्यानले प्रतियोगिताको व्यावसायिक विस्तार र अन्तर्राष्ट्रिय पहुँचलाई थप मजबुत बनाउने लक्ष्यसहित प्रसारण तथा टिकटिङ अधिकारको सम्झौता गरेको हो।
क्यानका अनुसार ओटिटी प्रसारण अधिकार नेट टिभी प्रालिले प्राप्त गरेको छ भने नेपालभित्रको लिनियर टेलिभिजन प्रसारण अधिकार हिमालय टेलिभिजन नेटवर्क प्रालिलाई प्रदान गरिएको छ। यससँगै टिकटिङ अधिकार भने इसेवा लिमिटेडले पाएको छ।
ओटिटी अधिकार नेट टिभीलाई
एनपिएलको विश्वव्यापी ओटिटी प्रसारण अधिकार नेट टिभी प्रालिले १८ करोड ४ लाख रुपैयाँमा खरिद गरेको छ। यस सम्झौतापछि नेपालसहित विश्वभर रहेका क्रिकेट समर्थकले डिजिटल प्लेटफर्ममार्फत प्रतियोगिताका खेलहरू प्रत्यक्ष हेर्न पाउनेछन् । क्यानले डिजिटल प्रसारणको बढ्दो लोकप्रियतालाई ध्यानमा राख्दै ओटिटी अधिकारलाई अन्तर्राष्ट्रिय स्तरमा बिक्री गरेको जनाएको छ।
विवादीमा परेको टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने अधिकार
नेपालभित्रको लिनियर टेलिभिजन प्रसारण अधिकार हिमालय टेलिभिजन नेटवर्क प्रालिले १४ करोड ६४ लाख रुपैयाँमा प्राप्त गरेको छ । गत विश्व कप फुटबल प्रसारणका बेलामा नेपालको कानुनभन्दा माथी गएर उपभोक्तालाई दोहोरो शुल्क उठाएर विवादमा परेको हिमालयन टिभीको स्पोटर्स च्यानललाई एनपिएलको पनि प्त्यक्ष प्रसारणको आधिकारी टिभी चयन गरिएको छ ।
यद्यपि, नेपालबाहिरका टेलिभिजन दर्शकका लागि प्रतियोगिताको प्रसारण स्टार स्पोट्र्समार्फत निरन्तर हुँदै आएको छ । यस व्यवस्थाले एनपिएललाई अन्तर्राष्ट्रिय दर्शकमाझ थप पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
इसेवालाई टिकटिङ अधिकार
प्रतियोगिताको टिकटिङ व्यवस्थापनको जिम्मा इसेवा लिमिटेडले पाएको छ। यसका लागि क्यान र इसेवाबीच ८५ लाख रुपैयाँको सम्झौता भएको छ।
सहमतिअनुसार टिकट बिक्रीबाट प्राप्त हुने कुल आम्दानीमध्ये ९५ प्रतिशत रकम क्यानलाई र ५ प्रतिशत इसेवालाई प्राप्त हुनेछ। यस व्यवस्थाले अनलाइन टिकटिङलाई व्यवस्थित बनाउने र दर्शकलाई सहज रूपमा टिकट खरिद गर्ने सुविधा उपलब्ध गराउने विश्वास गरिएको छ।
एनपिएलको व्यावसायिक मूल्य थप उकासियो
क्यानले तेस्रो संस्करणअघि प्रसारण र टिकटिङ अधिकारबाट भएको यो सम्झौताले एनपिएलको व्यावसायिक मूल्य उल्लेखनीय रूपमा बढेको जनाएको छ। क्रिकेटप्रति बढ्दो दर्शक आकर्षण, डिजिटल प्रसारणको विस्तार र निजी क्षेत्रको सहभागिताले प्रतियोगितालाई आर्थिक रूपमा थप बलियो बनाउने अपेक्षा गरिएको छ।
एनपिएललाई नेपालकै सबैभन्दा ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिताका रूपमा स्थापित गर्ने लक्ष्यसहित क्यानले प्रसारण, डिजिटल पहुँच र व्यावसायिक साझेदारीलाई क्रमशः विस्तार गर्दै आएको छ ।