काठमाडौं । भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावितका लागि बाजुराको खप्तड छेडेदह गाउँपालिकाले २० लाख ५८ हजार ९१६ सहयोग गर्ने निर्णय गरेको छ ।
गाउँ कार्यपालिकाको बैठकबाट जनप्रतिनिधि तथा कर्मचारीको पारिश्रमिक र सेवा सुविधाबाट रकम कट्टा गरी बाढी प्रभावित नागरिकको उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकमुष्ट जम्मा गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर मौनीले बताए ।
यसैगरी, होटल संघ पोखरा नेपालले भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम प्रदान गरेको छ । संघका तर्फबाट दुई लाख तथा पोखराको बाराही हस्पिटालिटीका तर्फबाट २० लाख ५५ हजार र अन्य होटलको सहित गरी कूल २९ लाख ३५ हजार ८३३ आज कोषमा जम्मा गरिएको हो ।
कोषमा जम्मा गरिएको रकमको भौचर कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङलाई प्रदान गरिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । सोही अवसरमा माउण्टेन ट्रष्टका तर्फबाट गरिएको १० लाख सहयोगका बारेमा समेत जानकारी प्रदान गरिएको थियो ।
बाढी पीडितका लागि पर्वतका निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) पर्वतले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि साढे ९ लाख आर्थिक सहयोग गरेको छ ।
जिल्लाभर सञ्चालित निजी विद्यालयका तर्फबाट ९ लाख ६७ हजार ४४५ रकम संकलन गरी सहयोग गरिएको प्याब्सन पर्वतले जनाएको छ । प्याब्सन पर्वतका अध्यक्ष विमल पौडेलका अनुसार उक्त केन्द्रीय समितिमा रहेको राहत कोषमा जम्मा गरिएको र केन्द्रले संयुक्त रूपमाप्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमाजम्मा गर्ने भएको छ ।
जिल्ला अदालत तनहुँले बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि तनहुँ जिल्ला अदालतबाट तीन लाख ८१ हजारभन्दा बढी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ ।
तनहुँ जिल्ला अदालतका न्यायाधीश, श्रेस्तेदारसहित सम्पूर्ण कर्मचारीका तर्फबाट उक्त रकम सहयोगस्वरूप आज कोषमा जम्मा गरिएको हो । प्राकृतिक विपद्का कारण प्रभावित परिवारको तत्कालीन राहत तथा दीर्घकालीन पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले अदालत परिवारले सामूहिक रूपमा आर्थिक सहयोग गरेको श्रेस्तेदार नन्दप्रसाद आचार्यले जानकारी दिए ।
यसैगरी मोरङका निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङले बाढी तथा पहिरो प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनका लागि ७४ लाख ९५ हजार ७५१ सहयोग संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ ।
बाढी–पहिरोबाट पीडित भएकाहरूलाई सहयोग पुर्याउने उद्देश्यले प्याब्सन मोरङ मातहतका विद्यालय, शिक्षक, शिक्षिका, कर्मचारी, विद्यार्थी, अभिभावक तथा विभिन्न सहयोगी व्यक्तिहरूबाट उक्त रकम संकलन गरिएको हो ।
संकलित रकम प्याब्सनको केन्द्रीय राहत कोष मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेतले विज्ञप्तिमार्फत जानकारी दिए ।
यसैगरी लमजुङ प्याब्सानको तर्फबा १६ लाख रुपैयाँ सहयोग गरेको छ । लमजुङ प्याब्सनले बाढी पहिरोबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि १६ लाख ३१ हजारभन्दा बढी सहयोग गरेको अध्यक्ष ईश्वर पौडेलले जानकारी दिए ।
यस्तै, तनहुँ समाज हङकङले आर्थिक सहयोग गरेको छ । तनहुँ घर भई हाल हङकङमा रहेको तनहुँबासीको संस्था तनहुँ समाज हङकङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख ५५ हजार सहयोग गरेको हो ।
समाजका उपाध्यक्ष सुवित गुरुङको संयोजकत्वमा तनहुँ जिल्ला र अन्य जिल्लाहरूबाट हङकङलाई आफ्नो कर्मथलो बनाई बसेकाहरूबाट रकम संकलन गरी कोषमा जम्मा गरिएको हो ।
हुम्लाको नाम्खा गाउँपालिकाले आफ्नो विपद् व्यवस्थापन कोषबाट ५५ हजार ५५५ गर्ने निर्णय गरेको छ । गाउँपालिकाले भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, गोरखा र धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको तथा हुम्लाका नागरिकसमेत प्रभावित भएको भन्दै विपद्को दुःखद् घडीमा सहयोग गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले बताए ।