काठमाडौं। राष्ट्रिय विपद्का कारण प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि शंकर ग्रुपले ४ करोड रुपैयाँ सहयोग गरेको छ।
शंकर ग्रुपका निर्देशक दीपा अग्रवाल तथा वरिष्ठ व्यवस्थापन टोलीले प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी उक्त रकमको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरेका हुन्।
ग्रुपले विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै, बेपत्ता भएकाहरूको सकुशल उद्धारको कामना गर्दै उद्धार तथा राहत कार्यमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्वयंसेवक तथा सरकारी अधिकारीप्रति आभार व्यक्त गरेको छ।
यसअघि शंकर ग्रुपले गृह मन्त्रालयको समन्वयमा भैरहवाका प्रमुख जिल्ला अधिकारीमार्फत विस्थापित नागरिकका लागि २,५०० थान टार्पोलिन टेन्ट उपलब्ध गराइसकेको जनाएको छ। उक्त टेन्टको मूल्य करिब २५ लाख रुपैयाँ रहेको ग्रुपले जनाएको छ।
ग्रुपले राष्ट्रिय संकटको समयमा सरकार र नागरिकसँग काँधमा काँध मिलाएर उभिनु आफ्नो दायित्व भएको बताउँदै आगामी दिनमा पनि राहत तथा पुनर्स्थापनाका कार्यमा सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ।