काठमाडौं । बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनस्र्थापना कार्यमा सहयोग पु¥याउने उद्देश्यले सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन् ।
विपद्को यस कठिन परिस्थितिमा प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतको संस्था ‘सिप्रदियन सहायता संस्था’ मार्फत समेत प्रत्यक्ष राहत तथा सहयोग कार्यक्रम सञ्चालन गरिरहेको जनाइएको छ ।
सिप्रदियन सहायता संस्थाका प्रतिनिधिहरू प्रभावित समुदायमा पुगेर स्थानीय आवश्यकता पहिचान गर्दै अत्यावश्यक राहत सामग्री, खाद्यान्न, तथा अन्य आधारभूत आवश्यकताका सामग्रीहरू वितरण गरिरहेका छन् । प्रभावित परिवारको तत्कालीन आवश्यकतालाई प्राथमिकतामा राख्दै संस्थाले स्थानीय स्तरमै समन्वय गरी आवश्यक सामग्री तथा सहयोग उपलब्ध गराउँदै आएको छ ।
सिप्रभ्य समूहले राष्ट्रलाई संकट परेको समयमा आफ्नो सामाजिक उत्तर दायित्व निर्वाह गर्दै प्रभावित समुदायसँग ऐक्यबद्ध भएर उभिने प्रतिबद्धता व्यक्त गरेको छ । विपद्को यस कठिन घडीमा प्रभावित परिवारको उद्धार, राहत र पुनःस्थापनाका लागि आवश्यक सहयोगमा निरन्तर सहकार्य गर्ने समूहको प्रतिबद्धता रहेको छ ।