रसुवा बाढी प्रभावितलाई सहयोग गर्न निजी क्षेत्रसँग परिसंघको अपिल

0 Shares

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उपचार तथा पुनःस्थापनाका लागि नेपाल उद्योग परिसंघ (सीएनआई) ले निजी क्षेत्रलाई सहयोगमा जुट्न अपिल गरेको छ।

परिसंघले बिहीबार विज्ञप्ति जारी गर्दै बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ। बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

विपद्का बेला प्रभावित नागरिकलाई अत्यावश्यक राहत सामग्री उपलब्ध गराउन तथा पुनर्निर्माण र पुनःस्थापनाका काममा सहयोग पुर्‍याउन परिसंघले ‘डिजास्टर रेस्पोन्स कमिटी’ गठन गरेको जनाएको छ। समितिमार्फत राहत सामग्री संकलन तथा प्रभावित क्षेत्रमा हस्तान्तरणको काम अघि बढाइएको परिसंघले जनाएको छ।

परिसंघले आफ्ना सदस्य संस्था, उद्यमी–व्यवसायी तथा व्यावसायिक संघसंस्थालाई सरकार र समुदायसँग हातेमालो गर्दै राहत तथा पुनःस्थापनाका काममा सक्दो योगदान गर्न आग्रह गरेको छ।

त्यस्तै, प्रभावित नागरिकको राहत, उपचार तथा पुनःस्थापनाको कामलाई तीव्रता दिन नेपाल सरकारसँग समेत परिसंघले आग्रह गरेको छ।

भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायतका क्षेत्रमा ठूलो क्षति भएपछि निजी क्षेत्रबाट राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटाउने क्रम बढेको छ।

सम्बन्धित समाचार