काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनार र नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीबीच सर्वाजनिक लेखा समितिको बैठकमा नोकझोक भएको छ ।
सांसद सुनारले आईजीपीमाथि इंगित गर्दै प्रहरीमा जुत्ता, मोजा, कपडालगायतका सामान खरिदमा अनियमितता भएको विषयमा तत्काल छानबिन समिति गठन गर्न माग गरे ।
यस क्रममा उनले आईजीपीमाथि प्रश्न उठिसकेको अवस्थामा पदमै राखेर छानबिन गर्न नहुने तर्क गरेका थिए । आईजीपीको राजीनामा माग गर्दै उनले उनले भने, ‘तत्काल छानबिन समिति बनाउनुपर्छ, आरोपित मानिसहरूलाई जिम्मेवारीबाट बाहिर राख्नुपर्छ र निष्पक्ष ढङ्गले छानबिन हुनुपपर्छ ।’
उनले निर्वाचनमा ठूलो संख्यामा म्यादी प्रहरी भर्ती हुने गरेकाले उनीहरूले दुःख गरेर कमाएको पैसामा प्रहरीभित्र बदमासी हुन नहुने दाबी गरे । यस क्रममा उनले ठेकेदार छनोट प्रक्रियामै अनियमितता भएको आशंका गर्न भ्याए ।
उनले प्रहरी खरिदसम्बन्धी उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत निकायमा परेको विषयमा निष्पक्ष छानबिन हुनुपर्ने बताए । यस क्रममा उनले तत्कालीन गृहमन्त्री, गृहसचिव र प्रहरी महानिरीक्षकलाई जिम्मेवारीबाट अलग गरी छानबिन गर्नुपर्ने बताएका हुन् ।
सांसद सुनारलाई लक्षित गर्दै आईजीपी कार्कीले कडा जवाफ फर्काए । यस क्रममा उनले सुनारका कुरा सुन्दा ‘पाषाणयुगीन मानसिकता बोकेका मान्छेबाट शाषित हुँदै छौँ’ कि भन्ने चिन्ता लागेको टिप्पणी गरे ।
‘प्रहरीहरूलाई घिसार्छु भन्नेहरूले पनि बडा मीठो कुरा गरेको यहाँ सुन्न पाइयो, घिसार्छु भन्ने कुन किसिमको पाषाणयुगीन मानसिकता बोकेका मान्छेबाट हामी शासित हुँदै छौँ कि भन्ने चिन्ता गरिराखेको बीचमा बडा दूधले नुहाएका कुरा सुनिन्छ,’ उनले भने, ‘हैन भने आजसम्म निष्ठापूर्वक काम गरेका मान्छेलाई ल्याएर, यहाँ ल्याएर जथाभाबी भन्या छ, जे मन लाग्यो त्यही भन्नु त उचित होइन होला, कुनै पनि ठाउँको एउटा सामान्य मर्यादा त हुन्छ होला नि ?’
यस क्रममा उनले निष्ठापूर्ण काम गरिरहेको मान्छेलाई संसदीय समितिमा ल्याएर जे मन लाग्यो त्यो भन्नु उचित नभएको बताए ।
उनले भने, ‘सजिलो चाहिँ गालीगलौज गर्ने रहेछ मञ्चमा बसेर, त्यो सिक्न पाए हुन्थ्यो, यो हुर्मत लिने किसिमको यो परिस्थिति एउटा यो सभ्यताको हिसाबले पनि, संसदीय कुराले पनि त्यति मजाको चाहिँ लागेन, उजुरी परेका सम्बन्धमा अनुसन्धान हुनुपर्छ, सोधपुछ हुनुपर्छ, सबै ठीक छ, हामी प्रहरी मात्रै होइन, हामी मुलुककै प्रतिपक्ष पनि होइन ।’