एकै रातमा करोडौंको गिट्टीबालुवा तस्करी भइरहेको छ: सांसद तामाङ

0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले खोला तथा नदीबाट अवैध रुपमा गिट्टी, बालुवा तस्करी भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद तामाङले धादिङसहित देशभर राज्यलाई कर नतिरी गिट्टी र बालुवाको तस्करी भइरहेको उल्लेख गरिन्। ‘बर्खे महिनाहरूमा कानुन र नियम अनुसार खोलाबाट गिटी र बालुवा निकाल्न निषेधित छ। तर तस्करहरूले एकै रातमा लाखौं, करोडौंको बालुवा राज्यलाई एक रुपैयाँ कर नतिरी तस्करी गर्छन,’ सांसद तामाङले भनिन्।

यो देशभरको समस्या भएको उनको भनाइ थियो। ‘यो समस्या मेरो जिल्ला धादिङलगायत नेपालको अधिकांश नदीमा जटिल समस्याको रुपमा खडा छ। त्यो भन्दा जटिल हाम्रो कानुन र प्रक्रियामा छ,’ उनले भनिन्।

यसम्बन्धी कानुन अपूरो रहेको तथा भएको कानुनको समेत प्रभावकारी कार्यान्वयन हुन नसकेको उनले बताइन्। हालको मापदण्डअनुसार, तत्काल कानुन संशोधन गर्न समेत उनले सरकारको ध्यानाकर्षण गराइन्।

‘मेरो मनसाय ढुंगा, गिटी र बालुवा निकाल्न हुँदैन भन्नेमा पटक्कै होइन। तर यसको सही व्यवस्थापनमा कानुन बाधक बन्नु हुँदैन भन्ने हो,’ उनले थपिन्, ‘मापदण्ड अहिलेको व्यवस्थाअनुसार चल्नका लागि आवश्यक संशोधन गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्न चाहन्छु।’

नदीजन्य पदार्थको अवैध कारोबारका कारण सरकारले करोडौँ राजश्व गुमाइरहेको उल्लेख गरिन्।

सम्बन्धित समाचार