बजाजले नेपालमा ल्यायो दुई नयाँ इलेक्ट्रिक स्कुटर

0 Shares

काठमाडौं । बजाज अटोले नेपालमा आफ्नो इलेक्ट्रिक स्कुटर ‘चेतक’को नयाँ मोडल विस्तार गरेको छ । कम्पनीले चेतक सिरिजअन्तर्गत सी२५०१ र सी३५०३ गरी दुई नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको हो ।

नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीसँगको सहकार्यमा ल्याइएका दुवै मोडल नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गरिएको हो ।

११३ किलोमिटर रेन्ज, मूल्य २ लाख ८१ हजार चेतक सी२५०१ मा २.५ किलोवाट आवर क्षमताको लिथियम–आयन ब्याट्री दिइएको छ । कम्पनीका अनुसार यसले एकपटकको चार्जमा प्रमाणित आईडीसी परीक्षणअनुसार ११३ किलोमिटरसम्म रेन्ज दिन्छ । यसको अधिकतम गति ६० किलोमिटर प्रतिघण्टा रहेको छ ।

स्कुटरमा फास्ट चार्जिङ सुविधा दिइएको छ । यसमार्फत ब्याट्रीलाई शून्यबाट ८० प्रतिशतसम्म चार्ज गर्न २ घण्टा २५ मिनेट लाग्ने कम्पनीको दाबी छ ।

सी२५०१ मा कलर एलसीडी डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, म्युजिक प्लेरपज कन्ट्रोल, रिभर्स मोड र २५ लिटरको अन्डर–सिट स्टोरेजलगायतका सुविधा छन् ।

यो स्कुटर ग्लोसी एक्टिभ ब्ल्याक, ओपालेसेन्ट सिल्भर, क्लासिक ह्वाइट, रेसिङ रेड, ओसन टिल र मिस्टी येलो गरी ६ रङमा उपलब्ध हुनेछ। यसको मूल्य २ लाख ८१ हजार ९०० रुपैयाँ तोकिएको छ।

सी३५०३ मा १५१ किलोमिटर रेन्ज

चेतक सी३५०३ मा ३.५ किलोवाट आवर क्षमताको लिथियम–आयन ब्याट्री जडान गरिएको छ । यसले एकपटक चार्ज गर्दा १५१ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ । यसको अधिकतम गति ७० किलोमिटर प्रतिघण्टा रहेको छ ।

सी३५०३ मा डिजिटल एलसीडी डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, कल तथा म्यासेज अलर्ट र ३५ लिटरको अन्डर–सिट स्टोरेज सुविधा छ । स्कुटरमा पुरानो चेतकको डिजाइन झल्काउने घोडाको नाल आकारको डीआरएल हेडलाम्पसमेत दिइएको छ ।

यो मोडल इन्डिगो मेटालिक, ब्रुकलिन ब्ल्याक, म्याट चारकोल ग्रे र साइबर ह्वाइट गरी चार रङमा उपलब्ध हुनेछ । यसको मूल्य ३ लाख ३९ हजार ९०० रुपैयाँ तोकिएको छ ।

बजाज नेपालका अनुसार दुवै मोडलको बुकिङ नेपालका छनोट गरिएका बजाज डिलरबाट सुरु भएको छ । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा समेत ग्राहकले नयाँ स्कुटरको अवलोकन गर्न सक्ने व्यवस्था गरिएको छ ।

हंसराज हुलासचन्द एन्ड कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले चेतकको नयाँ मोडल विस्तारले नेपालमा विद्युतीय गतिशीलताको क्षेत्रमा कम्पनीको उपस्थितिलाई थप विस्तार गर्ने बताए । उनका अनुसार नयाँ मोडलले फरक मूल्य र डिजाइन रुचाउने ग्राहकलाई लक्षित गर्नेछ ।

सम्बन्धित समाचार