काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले अटो क्षेत्रलाई राजस्वका रुपमा हेरेको बताएका छन् । आजदेखि सुरु भएको नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को नाइमा मोबिलिटी एक्स्पोमा उनले सरकारसँग गुनासो व्यक्त गरेका हुन् ।
‘अटो मोबाइल क्षेत्रलाई सधैँ सरकारले राजस्वको स्रोतको रूपमा मात्रै हेर्यो, सरकारलाई हामीले बारम्बार बुझाउन खोज्यौँ,’ उनले भने, ‘त्यो हामीले नसकेकाले आज पनि त्यही देखिन्छ, बजेटमा भन्सारका दरहरू अटो मोबाइल क्षेत्रमा थुपार्ने काम भयो ।’
उनले सवारी साधनलाई आवश्यकताका रुपभन्दा विलासी वस्तुको रूपमा हेर्ने गरिएको बताउँदै संसारकै उच्च भन्सार नेपाल सरकारले लगाउने गरेको बताए ।
‘नयाँ सरकारको नौलो काम सवारी साधनको दर्ता रोक्ने हुन्छ, किन त्यो गर्छ भन्नेबारे स्पष्ट हुँदैन, तर केही समयपछि आफैँ खोलिन्छ, झ्याप्प बन्न गरेर मात्रै हुँदैन, यसबारे अध्ययन अनुसन्धान गरेर मात्रै यसमा के गर्ने भन्नेबारे निर्णय गर्नुपर्यो,’ उनले भने ।
उनले नेपालमा दिगो मोबिलिटीको आवश्यकता रहेको उल्लेख गर्दै सवारी साधनमा वैज्ञानिक भाडादर कायम हुनुपर्ने माग राखेका थिए । यसमा सबै तहका सरकार एकरूपता हुन आवश्यक रहेको उनको भनाइ थियो ।