काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)की अध्यक्ष ऋतु सिंह वैद्यले मोबिलिटी विलासिता नभई विकासको आधार भएको बताएकी छन् । ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’को उद्घाटनमा सम्बोधन गर्दै उनले माबिलिटीलाई विलासिताको आधारमा मात्रै हेर्न नहुने बताएकी हुन् ।
यस क्रममा अध्यक्ष वैद्यले मोबिलिटी क्षेत्रलाई हेर्ने राज्यको दृष्टिकोणमा परिवर्तन आउनुपर्नेमा जोड दिएकी थिइन् । ‘मोबिलिटी भनेको गाडी मात्र होइन, यो शिक्षा, स्वास्थ्य, रोजगारी, बजार र अत्यावश्यक सेवाहरूमाथिको पहुँच हो,’ उनले भनिन्, ‘यो विलासिताको वस्तु वा सरकारको राजस्व संकलन गर्ने मुख्य स्रोतमा मात्र हेरिनु हुँदैन, यो राष्ट्रिय विकासको अभिन्न अंग हो ।’
गत वर्ष स्थापना भएको नाइमामा हाल ३६ वटा कम्पनी आबद्ध भएको स्थापनाको वर्षमा नै मोबिलिटी एक्स्पो भव्यताका साथ सम्पन्न गरेको नाइमाको यो दोस्रो संस्करण भएको जानकारी दिँदै उनले नेपालको यातायात क्षेत्र तीव्र रूपमा विद्युतीय (ईभी) र हाइब्रिड प्रविधि भित्रिएको बताएकी थिइन् ।
उनले भनिन्, ‘हामी हरित अर्थतन्त्र निर्माणमा सरकारलाई सघाउन तत्पर छौं, तर सरकारले पनि नीति निर्माण गर्दा उद्योगी व्यवसायीसँग पूर्वछलफल गर्नुपर्छ, अचानक गरिने नीतिगत परिवर्तन र भूतप्रभावी निर्णयहरूले लगानीको वातावरण बिगार्छ ।’