सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट एक सुत्केरीसहित दुई जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत हवाई उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको समन्वयमा नेपाली सेनाको हेलिकप्टर निःशुल्क व्यवस्था गरी दुवै जनालाई समयमै सुविधासम्पन्न स्वास्थ्य संस्थामा पुर्याइएको हो ।
प्रमुख जिल्ला अधिकारी कमानसिं थापामगरका अनुसार थुलुङ दूधकोशी गाउँपालिका ७ की ३८ वर्षीया शारदा बस्नेतलाई प्रसूति जटिलता देखिएपछि सेनाको हेलिकप्टरमार्फत काठमाडौंस्थित थापाथली प्रसूति गृह लगिएको हो । बस्नेत गत सोमबार जिल्ला अस्पताल फाप्लुमा भर्ना भएकी थिइन् । उनले बुधबार बिहान ७ बजे बच्चा जन्माए पनि स्वास्थ्यमा जटिलता देखिएपछि थप उपचारका लागि सुविधा सम्पन्न अस्पताल पठाइएको हो ।
‘प्रसूति जटिलता देखिएपछि जिल्ला अस्पताल फाप्लुबाट थप उपचारका लागि आमा र शिशु दुवैलाई काठमाडौं रिफर गरिएको थियो, तत्काल उद्धार आवश्यक देखिएपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा नेपाली सेनाको हेलिकप्टर निःशुल्क व्यवस्था गरी उहाँलाई थापाथली प्रसूति गृह पठाइएको हो,’ प्रमुख जिल्ला अधिकारी थापामगरले भने ।
त्यसैगरी साउन २६ गते राति आत्महत्याको प्रयास गरेका २९ वर्षीय एक पुरुषलाई समेत जिल्ला अस्पताल फाप्लुमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं पठाइएको छ । उनलाई पनि सोही हेलिकप्टरमार्फत काठमाडौंस्थित ट्रमा सेन्टर लगिएको प्रमुख जिल्ला अधिकारी थापामगरले जानकारी दिए ।
सोलु सामुदायिक अस्पताल फाप्लुका प्रमुख डा. राजेन्द्र बस्नेतका अनुसार दुर्गम हिमाली जिल्लामा जटिल स्वास्थ्य समस्या भएका बिरामीलाई समयमै सुविधासम्पन्न अस्पतालसम्म पुर्याउन हवाई उद्धार प्रभावकारी माध्यम बनेको छ ।
सेनाको सहयोग र सम्बन्धित स्वास्थ्य संस्थासँगको समन्वयमा तत्काल उद्धारको व्यवस्था मिलाइएको प्रजिअ थापामगरले बताए । हवाई उद्धारका कारण दुवै नागरिकले समयमै उपचार सेवा पाउन सकेको र यसले उनीहरूको जीवन जोगाउन महत्त्वपूर्ण सहयोग पुगेको प्रशासनले जनाएको छ । दुर्गम क्षेत्रमा आकस्मिक स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि सरकारी निकायबीचको प्रभावकारी समन्वय आवश्यक रहेको प्रजिअ थापामगरले बताए ।